बजार व्यवस्थापन अनुगमन तथा उपभोक्ता हित संरक्षण सम्बन्धी ऐन संशोधन गर्ने प्रतिवद्धता

  ०७७ साउन १६ गते

वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले नगरपालिकाले निमार्ण गरेको बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण ऐन २०७६ लाई संशोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअल मार्फत साउन १५ गते आयोजना गरेको वीरेन्द्रनगर नपा बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण ऐन २०७६ को समिक्षा र सुझाव संकलन विषयक कार्यशालामा प्रमुख ढकालले ऐनमा देखिएका कमी कमजोरी तथा नसमेटिएका विषयहरुलाई आगामी नगरसभाबाट संशोधन गर्ने बताउनुभयो ।

कार्यशालामा आएका सुझावका आधारमा संशोधन गर्नुपर्ने प्रस्ताव सहितको प्रतिवेदन उपलब्ध गराउन इन्सेकलाई प्रमुख ढकालले आग्रह गर्नु भयो ।

खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषराज थापाले वीरेन्द्रनगर नपाले निमार्ण गरेको बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण सम्बन्धी ऐनमा केही विषयहरु संघीय ऐनसँग बाझिएको र स्थानीय तहमा देखिएका कतिपय विषयहरु नसमेटिएको उल्लेख गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर गोपाल रायमाझीले वीरेन्द्रनगर नपाले नगर प्रहरी व्यवस्था नगरिसकेको अवस्थामा बजार अनुगमनमा जाँदा नेपाल प्रहरीलाई परिचालन गर्नुपर्ने बुँदा समेटनु पर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेत्रहीन संघ सुर्खेतकी प्रतिनिधि सोमना खड्काले दृष्टिविहीनहरुले जान्ने बुझने गरी सबैखाले खाद्यान्न तथा उपभोग्य बस्तुहरुको उत्पादन र उपभोग गर्ने मिति उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले वीरेन्द्रनगर नपाले निमार्ण गरेको नगर विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, स्थानीय स्वास्थ्य सेवा ऐन र बजार व्यवस्थापन अनुगमन तथा उपभोक्ता हित संरक्षण सम्बन्धी ऐनका बारेमा गरिएको समिक्षा तथा सुझावका आधारमा नगरपालिकाले ऐन निमार्ण गर्ने अपेक्षा राखेको बताउनु भयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले सहजीकरण तथा अधिवक्ता पिताम्बर ढकालले समिक्षा प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा वीरेन्द्रनगर नपाका जनप्रतिनिधी, कानुन व्यवसायी, बजार व्यवस्थापन तथा उपभोक्ता संरक्षण सम्बन्धी कामगर्ने सरकारी गैरसरकारी संघसंस्था र नागरिक समाजका प्रमुख एवम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

दुर्गा थापा