प्राथमिक स्वास्थ्य केन्द्रमा तत्काल विशेषज्ञ चिकित्सक व्यवस्था गर्ने प्रतिबद्धता

  ०७६ मङ्सिर २१ गते

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा गौतमले प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ स्वास्थ्यकर्मी तत्काल व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

इन्सेक नेपालगञ्जद्वारा मङ्सिर २० गते आयोजित स्वास्थ्यको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले उक्त प्रतिबद्धता जनाउनु भएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भएपनि डाक्टर नहुँदा बिरामीले सामान्य उपचारको लागि पनि नेपालगञ्ज, कोहलपुर जानुपर्ने बाध्यता रहेको कार्यक्रमका सहभागीको गुनासो रहेको थियो ।

ओजेटीमा आएका स्वास्थ्यकर्मीले बिरामीलाई बेवास्ता गरेको, स्वास्थ्य बिमाको सुविधा प्रभावकारी नभएको र स्वास्थ्य केन्द्रमा बेवास्ता गर्ने गरेको सहभागीको गुनासो थियो ।

बढैयाताल गाउँपालिका कार्यालयका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले स्वास्थ्यको संवैधानिक व्यवस्था, नीति र प्रावधानका बारेमा बताउदै गाँउपालिकाको स्वास्थ्य केन्द्रहरूमा सेवाहरूको व्यवस्था भएको बताउनुभयो ।

बालबालिकाको सम्पूर्ण खोप निःशुल्क तथा समयमा लगाइने, गर्भवति जाँच, सुरक्षित मातृत्व, सुत्केरीलाई भत्ता, परिवार नियोजनका सेवाहरू, जनरल ओपिडी, विद्यालयमा ६÷६ महिनामा जुकाको औषधि, किशोरीहरूलाई ३-३ महिनामा आइरन चक्की, विद्यालयहरूमा शिक्षा पोषणका कार्यक्रमहरू सञ्चालनमा रहेको बताउनु भयो ।

स्वास्थ्य शाखा प्रमुख पौडेलले प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका औषधि पुरा रहेको र स्वास्थ्य चौकीमा ३५ प्रकारको औषधि हुनु पर्नेमा ५८ प्रकारकै औषधि उपलब्ध गराएको बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र सोरहवाका प्रमुख किशोर श्रेष्ठले विगतको समयमा प्रभावकारी नभएपनि दुई वर्षदेखि सुगर, प्रेसर, थाइराइडको औषधिहरू निःशुल्क वितरण गर्दै आएको बताउनुभयो ।

सेवा प्रदायक निकायका कर्मचारीहरू अनुशासित हुनु पर्ने विषयमा अनुगमन गर्ने र भएका समस्यालाई सुधार गर्न ध्यान दिने प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख किशोर श्रेष्ठले बताउनु भयो ।

स्वास्थ्य बिमाको सेवामा दिने विषयमा भेरी अस्पतालबाट बेवास्ता गरेको, अस्पतालले लापरवाही गरेकोले  यस विषयमा इन्सेकले आवाज उठाइदिनुको साथै पहल गरिदिनु पर्ने आग्रह सहभागीहरूले गर्नु  भएको थियो ।

मानव अधिकार समूहका अध्यक्ष हरिबहादुर घर्तीले प्रत्येक विद्यालयमा वर्षमा एक पटक स्वास्थ्य जाँच गर्नको लागि बढैयाताल स्थानीय सरकारको स्वास्थ्य शाखाको योजनामा पारेर काम गर्न आग्रह गर्नु भयो ।

इन्सेक नेपालगञ्जकी फोकल पर्सन सरस्वती मल्लले बिमा बापतको सेवाका लागि भेरी अस्पतालसँग समन्वय गर्नुपर्ने बताउनुभयो ।

Bardiya news photo_2076-08-20

Bardiya news photo_2076-8-20

Bardiya news photo_2076-80-20

मानबहादुर चौधरी