पुतलीबजार नगरपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७६ माघ २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा स्याङ्जाको पुतलीबजार नगरपालिकामा मानव अधिकार संरक्षण र सम्बर्धनको लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धि कार्यक्रम अन्तर्गत खाद्यको अधिकार सम्बन्धी  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख आतिथी पुतलीबजार नगरपालिका उपप्रमुख महेश पुरीले नगरपलिकाले नगरवासीलाई कृषिमा आकर्षण गर्न सके मात्र आफु खाद्यमा आत्मनिर्भर हुन सकिने भन्नुभयो ।

उहाँले नगरवासीलाई कृषिमा आकर्षण बढाउनका लागि नगरपालिका स्तरबाट विभिन्न कार्यक्रम तथा अनुदानहरु सञ्चालनमा आउने जानकारी दिनुभयो । अबको केही बर्ष भित्र नगरको –‘समृद्ध नगर सुखी नगरवासी’ कार्यक्रम अन्तर्गत कोही पनि खाना नपाएर बस्न नपर्ने गरी नगरपालिकाले कार्यक्रमहरु ल्याइसकेको बताउनुभयो ।

नगरपालिकाको कृषि निति तथा कार्यक्रमको बारेमा कृषि शाखा प्रमुख मनिषा लामिछानेले प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै सहभागीहरुले दुग्धजन्य पदार्थ, तरकारी, मौरीपालन च्याउ खेती गर्नको लागि नगर स्तरबाट टनेल, बिउबिजन, प्लाष्टिक जस्ता कच्चा पदार्थहरु वितरण गरिएको भए तापनि बितरण गरिएका समान र अनुदानको प्रभावकारी कार्यान्वयन नभएको बताएका थिए ।

दलित समुदायले उत्पादन गरेका दुग्धजन्य खाद्यन्नहरुलाई सहजरुपमा बजारमा बिक्री वितरण गर्नको लागि समस्या रहेको कुरा दलित विकास समितिका संयोजक बुद्धीबहादुर परियारले बताउनुभएको थियो ।

टोल विकास संस्था–५संयोजक गेस कुमारी थापाले खेतबारीमा लगाइएका बालीहरु बाँदरको कारण विनाश भएको र यस समस्यालाई नगरस्तरबाटै गम्भीर रुपमा लिनुपर्ने धारण व्यक्त गर्नुभएको थियो ।

सहभागीहरुले कृषिलाई व्यवसायिकरण गर्नका लागि खेतबारी बाझो राखेमा कारवाही गर्ने तथा नगरस्तरबाट खेतबारी बाझो राख्नै नपर्ने गरी विभिन्न कार्यक्रम ल्याउनुपर्ने तथा सञ्चालनमा आएका कार्यक्रमहरु कार्यान्वयनको अवस्था र अनुगमन गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका थिए ।

 

 

कमल सुनार