पीडित र पीडकको गोपनियताप्रति संवेदनशील बन्नुपर्नेमा जोड

  ०७५ मङ्सिर ७ गते

नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्रकाशन गरिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूका पीडित र पीडकहरूको गोपनियताप्रति संवेदनशील बन्नु पर्नेमा जोड दिइएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा मङ्सिर ७ गते वीरेन्द्रनगरमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सुर्खेत जिल्लामा सङ्कलित घट्नाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमका सहभागीहरूले सो कुरामा जोड दिइएको हो ।

सहभागीहरूले बलात्कार घटनाका पीडित तथा पीडकहरूको समेत वर्ष पुस्तकमा नाम प्रकाशन गरिएमा यसले थप समस्या निम्त्याउने र फौजदारी संहिता अनुरूप पीडत र पीडकको नाम प्रकाशन गर्न नहुने औँल्याएका थिए ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले हालै जारी गरिएको देवानी र फौजदारी संहिताको बारेमा कानुनी सचेतनाको खाँचो रहेको बताइन् । उपप्रमुख ढकालले कानुनी सचेतनाको अभाव, प्रविधिको दुरूपयोग, सेवाप्रदायक र सेवाग्राहीबीचको तालमेल नहुनुले अहिलेपनि मानव अधिकार उल्लङ्घनका घट्नाहरू हुने गरेको उल्लेख गरिन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अधिकृत लक्ष्मी खरेलले मानव अधिकारको विषय संवेदनशील भएकाले पुस्तक प्रकाशन गर्नुपुर्व इन्सेकले भेरीफिकेसनलाई जोड दिएर राम्रो गरेको बताइन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बसन्तबहादुर क्षेत्रीले बलात्कार भन्ने शब्दको सट्टा करणी सम्बन्धी कसुर र जबरजस्ती करणी भन्ने शब्द प्रयोगमा ल्याउन सुझाव दिँदै जिल्लामा देखापरेको बलात्कार, आत्महत्या र घरेलुहिंसाका घटना न्यूनिकरण गर्न सबै पक्ष संवेदनशील बन्नुपर्ने बताए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाले सन् २०१८ जनवरीदेखि नोभेम्बर महिनासम्म सङ्कलन गरिएका घरेलु हिंसाका ९०, बलात्कार तथा यौनजन्य हिंसाका २८, बलात्कारपछि हत्या एक, बाल अधिकार उल्लङ्घनको एक, मानव बेचबिखन तथा शरीर बन्धकको एक, बालविवाहको एक, धम्की तथा कुटपिटका चार र बहुविवाहको घटनामा प्रहरीले सुनुवाइ नगरेको एउटा घटना रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

दुर्गा थापा