'पीडितले न्याय पाए की पाएनन्, नागरिक निगरानी बढाउनुस्'-सरोकारवाला

  ०७५ असार ८ गते

बहुविवाह र बलात्कारका घटना बढेकामा सरोकारवाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको असार ८ गते गरिएको अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागीहरूले जटिल प्रकारका बलात्कार र बलात्कार प्रयासका घटनाको न्यूनीकरणका लागि जिल्लामा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

Photo20180622Gorkha1

'बलात्कार र बहुविवाहका घटनाको प्रकृति हेर्दा हाम्रो समाज कता जाँदै छ ? भन्ने लाग्छ ।'-जिल्ला अदालतका श्रेस्तेदार गोविन्द आचार्यले भने ।

अदालतले तारेकमा छाडे वा फैसला गरे कस्तो फैसला गर्‍यो भनेर नागरिक स्तरबाट निगरानी हुनुपर्ने उनले बताए । 'पीडितले निष्पक्ष न्याय पाउन् । त्यसका लागि नगरिक निगरानी बढाउनुपर्‍यो ।'-उनले भने ।

मुद्दा टुङ्गसिकेपछि पनि त्यसको निगरानी अधिकारकर्मीले राखिराख्नुपर्ने मानव अधिकार सञ्जालका अध्यक्ष यदु अधिकारीले बताए ।

Photo20180622Gorkha (1)

वर्षपुस्तकका लागि सङ्कलित घटना पछिल्ला वर्षहरूमा बढ्दै आएको पूर्व इन्सकेकर्मी तथा पत्रकार भिमलाल श्रेष्ठले बताए । 'घटनाहरू हेर्दा वर्षपुस्तक दुब्लाउला जस्तो छैन । घटना न्यूनीकरणका लागि के गर्न सकिन्छ त्यसतर्फबेलैमा सोचौँ ।'-उनले भने ।

बलात्कार र बलात्कार प्रयासका घटना गाउँमै मिलाउने प्रयास हुन्छ कि भन्ने आशंका उब्जाएको महिला मानव अधिकार रक्षक सञ्जालकी सावित्री भट्टले बताइन् । 'गाउँ स्तरमै बलात्कार, बलात्कार प्रयास र बहुविवाहकका घटना मिलाइएको पो छ कि ? त्यतातर्फपनि ध्यान दिनुपर्छ ।'-उनले भनिन् ।

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरणमा इन्सेकले खेलेको भूमिका महत्वपुर्ण भएको पत्रकार महासङ्घ गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले बताए ।

कार्यक्रममा राज्य पक्षबाट गिरफ्तार गरेको एक, गैरराज्य पक्षबाट कथित बोक्सी आरोपको एक र विद्यार्थी कुटपिटको एउटा घटना सार्वजनिक गरिएको छ । त्यस्तै बाल अधिकार अन्तर्गत बलात्कार, र यौन दुर्व्यवहारका पाँच वटा घटना ६ महिनाको अवधिमा अभिलेख गरिएको छ ।

महिला विरूद्घ हुने सबै प्रकारका भेदभाव दुर्व्यवहार अन्तर्गत बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका चार वटा घटना तथा बहुविवाहका नौ वटा घटना अभिलेख गरिएको छ ।

हरिराम उप्रेती