पीडितलाई अनुदान दिन र समयमा नै पुनर्निर्माण गर्न आग्रह

  ०७५ मङ्सिर ५ गते

लाभग्राहीमा छुटेका वास्तविक भूकम्प पीडितहरूलाई अनुदानको व्यवस्था गर्न र पहिलो किस्ता लिएर निर्धारित समयमा घर बनाउने लाभग्राहीलाई आग्रह गरिएको छ ।

महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा मङ्सिर ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सञ्जाल ललितपुर र महालक्ष्मी नगरपालिका-७ को संयुक्त आयोजनामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाहरूले सो आग्रह गरेका हुन् ।

Photo20181121Lalitpur (1)

भूकम्प पीडितहरूले अझै अनुदान नपाएको गुनासो तत्काल सम्बोधन गर्न र पहिलो किस्ता लिइ घर नबनाउने लाभग्राहीहरूलाई सरकारले तोकेको समयमा पुनर्निर्माण सम्पन्न गर्न सरोकारवालाहरूले ध्यानाकर्षण गराएका हुन् ।

Photo20181121Lalitpur (2)

महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापाले पुरानो बस्ती भएका ठाउँहरूमा थोरै क्षेत्रफलमा सानो तर अग्लो घर बनाएर भिन्नाभिन्नै बसेका परिवारहरू हुँदा केही समस्या भएको बताइन् ।

उनले ललितपुर महानगरपालिकाको पाटनबासी तल्सिङ र महालक्ष्मीबासी मोही भएका कारण पनि धेरै भूकम्प पीडितहरूको जग्गाधनी पुर्जा नहुँदा पुनर्निर्माणको काममा अपेक्षाकृत उपलब्धि हुन नसकेको बताइन् ।

Photo20181121Lalitpur (3)

उपप्रमुख थापाले पहिलो किस्ता अनुदान लिएका लाभग्राहीले पुनर्निर्माण प्रक्रियामा जान दोस्रो किस्ता र तेस्रो किस्ता लिने प्रक्रियामा सरकारले तोकेको मापदण्ड र समयमा नगएमा लाभग्राहीले लिएको रकम फिर्ता लिन सरकारले कदम चाल्नेमा लाभग्राहीको ध्यानाकर्षण गरिन् ।

महालक्ष्मी नगरपालिका-७ चाँगाथलीका वडा अध्यक्ष नकुल थापाले एउटै छानाभित्र अलगअलग भान्छा गरी बसोबास गर्ने भूकम्प पीडित, पुरै घर भत्किएर पनि लाभग्राहीको सूचीमा नपरेका परिवारले गुनासो गर्दा पनि लाभग्राहीको सूचीमा नाम ननिस्किएका पीडितहरूका विषयमा पुनर्निर्माण प्राधिकरण निर्णायक प्रक्रियामा जानु पर्ने माग गरे ।

Photo20181121Lalitpur (4)

पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान तथा व्यवस्थापन, स्थानीय पूर्वाधार अनुगमन तथा मूल्याङ्कन विशेषज्ञ यमनाथ गिरीले प्रक्रिया पुर्‍याएर आएका भूकम्प पीडितहरूलाई राहत दिन पुनर्निर्माण प्राधिकरण तयार रहेको उल्लेख गर्दै स्थानीय तहले अभिलेखिकरण र मुचुल्का गरी सिफारिस गरेमा पीडितहरूले अनुदान पाउने बताए ।

उनले ५० हजार रुपियाँ लिएर घर बनाउने प्रक्रियामा नगएका लाभग्राहीले सरकारले तोकेको समयमा पुनर्निर्माण प्रक्रियामा नजाँदा पुनर्निर्माणको प्रगति अपेक्षाभन्दा कम भएको बताए ।

पुनर्निर्माणका लागि रकम अभाव भइरहेको बेलामा सरकारलाई ढाँटछल गर्ने र घर नबनाउनेहरूसँग सरकारी बाँकी सरह असुल गर्ने चेतावनी दिए ।

मानव अधिकार सञ्जाल ललितपुरकी सदस्य कल्पना नेपालीले पुनर्निर्माणको गति सुस्ताइरहेको र भूकम्पपीडितहरूले खुल्ला आकाशमुनि कठ्याङ्ग्रिएर बस्नुपरेको स्मरण गर्दै सरोकारवाला, भूकम्प पीडित र जनप्रतिनिधि बीच समन्वयकारी भूमिका खेल्दै आएको बताइन् ।

चाँगाथलीकी मेनुका अमात्यले भूकम्प पीडितहरूलाई राहत तथा अनुदान दिन सरकारी निकाय र सरोकारवाला पक्षले ढिलासुस्ती गरेको आरोप लगाउँदै पीडितहरूको गुनासो सम्बोधन गर्न स्थानीय तह र पुनर्निर्माण प्राधिकरणलाई आग्रह गरिन् ।

स्थानीय बाबुकाजी महर्जनले भूकम्पपछि पुनर्निमाण प्राधिकरणका इञ्जिनियरहरूको सल्लाह अनुसार घर बनाए पनि घरको नक्सा पास र अनुदान रकम नपाएको बताए ।

स्थानीय भक्तबहादुर महर्जनले भूकम्प पीडितलाई सरकारले न्याय दिन नसकेको टिप्पणी गर्दै वडा कार्यालयले दिएको सिफारिस लिइ गुनासो गर्दा पनि सुनुवाइ नभएको दुखेसो गरे ।

दीपकप्रसाद घिमिरे