पारदर्शी, जबाफदेही र समन्वयात्मक भूमिका निभाउन प्रतिबद्ध

  ०७५ असार ३ गते

विकासका लागि पारदर्शी, जबाफदेही र समन्वयात्मक भूमिका निर्वाह गर्न जिल्लाका सरोकारवालाहरू प्रतिबद्ध भएका छन् ।

युएसएआइडीको आर्थिक तथा एफएचआईको प्राविधिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिन्धुलीमाढीमा आयोजना गरेको विकासका लागि नागरिक समाज र सञ्चारजगतबिचको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्लाका विकासका साझेदार संस्थाका प्रतिनिधि, सञ्चारजगतका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूले हस्ताक्षर सहित प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Photo20180617Sindhuli (3)

कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले विकासमा नगरपालिकाले पत्रकार र नागरिक समाजसँग सधैँ सहकार्य गर्न तयार रहेको बताइन् ।

असार ३ गते सिन्धुलीमाढीमा सम्पन्न कार्यक्रममा उनले स्थानीय सरकारले विकासका कार्यक्रम सञ्चालन गर्दा अवसर र चुनौती दुवैको सामना गर्नु परेको बताउँदै विकासका हरेक पाटामा सञ्चार क्षेत्रले सचेत बनाउनुपर्नेमा जोड दिइन् ।

Photo20180617Sindhuli (2)

उनले लक्षित समुदायको बजेट नछुट्याउँदा चालु आर्थिक वर्षमा जनप्रतिनिधि नै आलोचित भएको बताउँदै अबको बजेट तथा कार्यक्रममा लक्षित समुदायको विकासका लागि काम थालिएको बताइन् ।

बजेट कार्यान्वयनमा आएका समस्या समाधान गर्नसमेत नागरिक समाज र पत्रकारसँग समन्वय गरिने बताइन् । कार्यक्रममा बोल्दै कमलामाई नगरपालिका-५ का वडाध्यक्ष पूर्णबहादुर खड्काले विकासका कामलाई प्रभावकारी बनाउन सहयोग गर्न आग्रह गरे ।

Photo20180617Sindhuli (1)

महिला विकास अधिकृत जानकी कुँवर राठीले समस्या उजागर मात्र नगरी समस्या समाधान गर्न सहकार्य गर्नुपर्ने बताइन् ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य द्वारिका काफ्लेले व्यक्तिका कारणले सबै नागरिक समाज र सञ्चार क्षेत्रलाई नै बदनाम नगराउन सबैलाई सुझाव दिए । उनले सबैले आआफ्नो जिम्मेवारी उचित ढङ्गले पुरा गरेमा नागरिक समाज, पत्रकार र विकासका साझेदारलाई लाग्ने आरोपमा कमी आउने बताए ।

कार्यक्रममा बोल्दै नेपाल बार एशोशियसनका अध्यक्ष जङ्गबहादुर राईले विकासमा पारदर्शिता कायम हुनका लागि मिडियाको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए । उद्योग वाणिज्य सङ्घ सिन्धुलीका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले आफ्नो कर्मले पुर्‍याउने हानीमा आफैँ जबाफदेही हुने परम्पराको विकास भएमा समस्या कम हुने बताए ।

बिमला पाण्डे