पर्सामा बलात्कारका घटना बढे, नियन्त्रण पक्ष बलियो बनाउन जोड

  ०७६ पुस १० गते

पर्सामा ६९ ओटा विभिन्न मानवअधिकारका उल्लंघनका घटनाहरु भएको तथ्याङ्क सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा गोष्ठीमा यो तथ्य सार्वजनिक गरिएको हो ।

इन्सेक पर्सा जिल्लाका प्रतिनिधि केसी लामिछानेले तथ्याङ्क सार्वजनिक गर्दै पर्सामा ०७५ पुस १८ गतेदेखि २०७६ पुस १० गते सम्म सबैभन्दा बढी बलात्कारको घटना भएको जानकारी गराउनुभयो ।

सार्वजनिक गरिएको तथ्याङ्क अनुसार पाँच वर्ष देखि १८ वर्ष मुनिका बालिका बलात्कारको २५ ओटा घटना भएको छ । १९ वर्षदेखि माथिका १८ ओटा बलात्कारको  घटना भएको छ । त्यसैगरी आठ ओटा आफन्तजन र परिवारजनबाटै हत्या भएको छ ।

बाल यौन दुर्व्यवहारका दुइओटा, हत्या प्रयास एक र अपहरणको एउटा घटना भएको छ । त्यस्तै प्रहरीको गोली प्रहारको दुइओटा घटना भएको छ । मानव बेचबिखनको चारओटा घटना भएको छ । एसिड प्रहारमा एउटा र बहुविवाहमा छ ओटा घटना इन्सेकले अभिलेख गरेको लामिछानेले बताउनुभयो । इन्सेकको अभिलेखमा छुवाछुतको घटना भने अभिलेखिकरण भएको छैन ।

मानवअधिकार निगरानी समूह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा पर्सा प्रहरीका एसपी सोमेन्द्र सिंह राठौरले ९४ प्रतिशत अनुसन्धानमा नेपाल प्रहरी सफल भएको दाबी गर्नुभयो । तथापी नियन्त्रण पक्ष बलियो हुनुपर्नेमा उहाँको जोड थियो ।

अपराधको घटना दर्ता हुँदैमा अपराधमा वृद्धि भएको भन्न नमिल्ने बताउँदै उहाँले यसमा घटना उजागर भएको भन्ने कोणबाट पनि हेर्नुपर्ने बताउनु भयो ।

पर्सा जिल्ला खुला सीमाका कारणले अपराध नियन्त्रणमा निकै चुनौती रहेको बताउँदै अपराध गरेर भाग्न सजिलो भएकोले र भारतसँग सुपुर्दुगी सन्धी नभएकोले कारवाहीको दायरामा ल्याउन समस्या हुने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानले मानवअधिकारको सवालमा राज्य उदासिन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको  सिफारिस कार्यान्वयन नहुनु दुखद् भएको बताउनुभयो ।

केसी लामिछाने