परियोजना सल्लाहाकार समितिको समन्वय बैठक सम्पन्न

  ०७४ असोज २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा असोज २३ गते जिल्ला परियोजना सल्लाहाकार समितिको समन्वय बैठक इनरुवामा सम्पन्न भएको छ ।

Photo20171011Sunsari

बैठकमा इन्सेकले सुनसरीको इनरुवा नपा-७ र गढी गाउँपालिका-२ मा सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने र दुहवी नपा-१० मा सञ्चालित कियोस परियोजनाको गतिविधि र उपलब्धि बारे छलफल गरिएको थियो ।

बैठकमा परियोजनाको प्रभावकारिता राम्रो भएको भन्दै गढी गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी चौधरीले मानव अधिकार निगरानी समूहका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन् । यस्तै इनरुवा नपा-७ का वडा अध्यक्ष किशोरकुमार सिंहले पनि निगरानी समूहलाई वडा कार्यालयबाट बजेटको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

बैठकमा जिल्ला कृषि कार्यलयका प्रमुख राजकान्त झा, महिला बालबालिका कार्यालयकी प्रमुख निर्जला अधिकारी चुडाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मुकुन्दराज गौतमलगायतले इन्सेकका कार्यक्रममा सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाए ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिवनाथ महतो, घरेलु तथा साना उद्योग कार्यालयका महिनारायण साहलगायतले परियोजना सफल बनाउनका लागि सुझाव दिएका थिए । जिल्ला समन्वय समितिका संयोजक गोपाल राजभण्डारीको अध्यक्षतामा बसेको बैठकमा कार्यक्रमको प्रभावकारिताका बारेमा छलफल गरिएको थियो ।

शेखर ढकाल