परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

  ०७४ असोज २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा असोज २६ गते जिल्ला परियोजना सल्लाहाकार समितिको समन्वय बैठक सिरहामा सम्पन्न भएको छ ।

Photo20171012Siraha

जिल्ला समन्वय समिति सिरहाका निमित्त प्रमुख पशुपति साहको अध्यक्षतामा सञ्चालित बैठकमा इन्सेकले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको दुई ओटा वडामा सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजनाको गतिविधि र उपलब्धिबारे छलफल गरिएको थियो ।

सो गाउँपालिका भित्र शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा देखा परेका समस्या, समाधानका उपाय र उपलब्धिको विषयमा इन्सेक क्षेत्रीय कार्यालय विराटनगरकी कार्यक्रम संयोजक बागमता कट्टेलले बैठकमा जानकारी गराएकी थिइन् ।

इन्सेकका क्षेत्रीय संयोजक सोमराज थापाले इन्सकले निर्माण गरेको निगरानी समितिले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा सक्रिय काम गरेको र सबै सरोकारवालाहरूले सहयोग र सहकार्य गरी दिन आग्रह गरेका थिए ।

बैठकमा जिल्ला कृषि कार्यलयका प्रमुख डा. रामचन्द्र यादव, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलदेव यादव, गैरसरकारी संस्था महासङ्घ सिरहाका अध्यक्ष गोबिन्दराज विष्ट, महिला बालबालिका कार्यालयका प्रतिनिधि शान्ता घिमिरे, जिल्ला शिक्षा कार्यालयका डिल्लीराम अधिकारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि शिवदयाल महतो लगायतले मानव अधिकारको क्षेत्रमा अग्रणी संस्था इन्सेकले उठाएको सवालहरूमा सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

दुर्गा परियार