परियोजनाको जिल्लास्तरीय परामर्श बैठक सम्पन्न

  ०७४ चैत २३ गते

जिल्ला समन्वय समिति पर्सा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजनाको जिल्लास्तरीय परामर्श बैठक चैत २३  गते जिल्ला समन्वय समिति पर्सामा सम्पन्न भएको छ ।

Photo20180406Parsa

कार्यक्रममा खाद्य, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारले ग्रामीण तहसम्म उपलब्ध गराएको सेवा सुविधा स्थानीय नागरिकले उपभोग गर्न पाए/नपाएको विषयमा निगरानी समूह बनाएर काम भइरहेको इन्सेक पर्साले जनाएको छ ।

स्वास्थ्यको क्षेत्रमा भौतिक संरचनाहरू बनेको तर ती हस्तान्तरण नभएर ग्रामीण बासिन्दाले प्रभावकारी स्वास्थ्य सेवा नपाएकोमा जिल्ला तथा मानव अधिकार निगरानी समूहको पहलमा स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण भएको इन्सेक पर्सा जिल्ला प्रतिनिधि केसी लामिछानेले बताए ।

समूहको पहलकमदीमा पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ मा निर्माण भएको स्वास्थ्यचौकी  गएको मङ्सिर ६ गते समुदायलाई हस्तान्तरण भएको हो । उनले त्यस्ता संरचना हस्तान्तरणको वातावरण बनाउन समूह र जिल्लास्तरीय सञ्जालले पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला जनस्वास्थ्य कार्यलय पर्सालाई ध्यानाकर्षण गराएको स्मरण गराए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत सचिदानन्द सिंहले इन्सेकबाट आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको क्षेत्रमा प्रभावकारी काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

जिल्ला समन्वय समिति पर्साका निमित्त स्थानीय विकास अधिकारी धर्मराज थापाले राज्यले दिएको सेवालाई प्रभावकारी कार्यान्वयनको लागि सहयोगी भूमिका निर्वाह गरेकोमा इन्सेक र मानव अधिकार निगरानी समूहलाई धन्यवाद दिए ।

केसी लामिछाने