पत्रकारको अवस्था कमजोर बनेकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त

  ०७४ भदौ २० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले राजविराजमा भदौ २० गते पत्रकार तथा मानव अधिकार रक्षकहरूको अवस्था र चूनौती विषयक छलफल कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा सञ्चारकर्मीहरूले पछिल्लो समय पत्रकारको सङ्ख्या बढ्दै गए पनि सुरक्षाको अवस्था दिन प्रतिदिन कमजोर बन्दै आएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रमका सहभागीहरूले पत्रकारिता पेशा आफैँमा मर्यादित एवम् सम्मानित भए पनि हरेकले आफू अनुकूलको समाचारको अपेक्षा गर्नाले र समाजले पत्रकारलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक बनिनसकेकाले पत्रकारिता पेशा अहिले पनि चुनौतीपूर्ण रहेको बताए ।

इन्सेकका साधारण सदस्य एवम् प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले बोली, व्यवहार र आचारसंहिताको ख्याल गरेमा धेरै हदसम्म जोखिमबाट जोगिने बताए ।

पत्रकार र मानव अधिकार रक्षकहरू अप्ठ्यारामा परेका बेला इन्सेकको ध्यानकर्षण हुने र सहयोग गर्ने गरेको जानकारी दिँदै इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले चूनौतीहरू कम गर्न समस्याहरू सुत्रबद्ध गरेर सरोकारवाला निकायसँग छलफल गरिने बताए ।

नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष शिवहरी भट्टराईले पत्रकारहरूले सन्तुलन मिलाएर लेख्नुपर्ने आवश्यक्ता औँल्याउँदै नागरिकका लागि पत्रकारहरूले सूचनाको अधिकार पाउनुपर्ने र प्रेस सुविधाको दुरूपयोग रोक्नुपर्ने बताए ।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य अवधेश झाले आधिकारिकतालाई ध्यान दिएर श्रोतका अनुसार लेख्न पत्रकारहरूसँग आग्रह गर्दै दैनिक रूपमा काम गर्ने पत्रकारहरूले मात्र प्रेसको सुविधा पाउनु पर्नेमा जोड दिए ।

आन्दोलन र निर्वाचनका बेला पार्टीको आन्तरिक समस्या र अस्वस्थ्य प्रतिस्पर्धाले द्वन्द्व बढने भएकाले पत्रकारहरूले जिम्मेवारीका साथ बढी सजग भएर काम गर्नुपर्ने आवश्यक्ता वक्ताहरूले औँल्याए । पत्रकार र मानव अधिकार रक्षकहरूको चूनौती बाहृय कारण मात्र नभएर आफ्नै कारणले पनि सृजना हुने गरेको उनीहरूको धारणा थियो ।

मनोहरकुमार पोखरेल