नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

  ०७६ असार १५ गते

इन्सेक नेपालगञ्जको आयोजनामा असार १५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को  प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक प्रदेश ५ का संयोजक भोला महतले इन्सेकले वर्ष पुस्तकलाई समय सापेक्ष परिमार्जन गर्दै  आएको बताउँदै पछिल्लो समय आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका विषयलाई प्राथमिकता दिँदै आएको बताए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि स्मृति देवकोटाले जिल्लामा सङ्कलन गरिएका हत्याको एउटा, धम्की/कुटपिटका दुई ओटा, गिरफ्तारीका ६ ओटा, बाल अधिकार उल्लङ्घनका ६ ओटा, बलात्कार तथा यौन दुर्व्यवहारका पाँच ओटा , परिवारजनबाट हत्या पाँच ओटा घरेलु हिंसाका कारण आत्महत्या गरेको भन्दै प्रहरीमा उजुरी परेका तीन ओटा, मानव बेचबिखन तथा ओसार पसारका तीन ओटा, घरेलु हिंसाका ५९ ओटा र कैदीले आत्महत्या गरेको एउटा गरी ९१ ओटा घटना रहेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा मानव अधिकार आयोग नेपालञ्जका प्रमुख चन्द्रकान्त चापागाईले मानव अधिकारको पहुँचमा रहेका सबै घटनाहरूलाई समेट्दै जानुपर्ने बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले इन्सेकका प्रकाशनहरू नियमित अध्ययन गर्दै आएको बताउँदै जिल्लामा भएका कतिपय घटनाहरू छुटेको हुनाले थप गर्न सुझाव दिए । अधिवक्ताद्वय विश्वजीत तिवारी र विकास आचार्यले बालविवाह र बाल न्यायका कुराहरू समेट्न सुझाव दिए ।

त्यसैगरी उपभोक्ता संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतम र फियानका सुरेश गौतमले उपभोक्ता अधिकारको विषयलाई समेट्नु पर्ने बताए ।

पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य झलक गैरेले वर्ष पुस्तकलाई नयाँ ढङ्गले प्रस्तुत गर्नुपर्ने बताए । उनले घटनालाई जोडेर कानुनमा भएको प्रावधानका विषय समेत उल्लेख गर्नु पर्ने बताए ।

photo20190630banke

स्मृति देवकोटा