नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा गोष्ठी सम्पन्न

  ०७४ मङ्सिर ११ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशन पूर्व समीक्षा गोष्ठी मङ्सिर १० गते चन्द्रनिगाहपुरमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक पूर्व जिल्ला प्रतिनिधि विपिन गौतमले सन् २०१८ को हालसम्मको रौतहट जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा तथ्याङ्क प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार यो अवधिमा अभिलेखित घटना अनुसार दुई महिला सहित पाँच जनाको हत्या भएको छ ।

बाल अधिकार उल्लङ्घनअन्तर्गत बलात्कार घटनामा सात, यौन दुर्व्यवहार घटनामा एक, बालिका बेचबिखन घटनामा एक, प्रहरीद्वारा कुटपिट घटनामा महिला २ र पुरुष ३, महिला अधिकार उल्लङ्घनअन्तर्गत बलात्कार प्रयास घटनामा एक, कथित बोक्सी घटनामा एक, परिवारजनबाट हत्या एक, दाइजोका कारण हत्या घटनामा एक जना पीडित भएका छन् ।

अभिलेखित घटना अनुसार यो अवधिमा रौतहटमा एसिड आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छिन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले इन्सेकले देशमा मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदान सराहनीय रहेको चर्चा गर्दै रौतहट जिल्लामा राज्यको तर्फबाट मानव अधिकार उल्लङ्घनका घटना प्रतिवेदनमा नदेखिनु सुखद रहेको बताए ।

रिजालले यस प्रतिवेदनमा रौतहट जिल्लामा लुकेर रहेका विभेदका घटनाहरू पनि प्रकाशमा ल्याएर मानव अधिकार संरक्षणमा योगदान पु¥याउन इन्सेकलाई आग्रह गरे ।

कार्यक्रममा महिला अधिकारकर्मी चीना श्रेष्ठले इन्सेकको प्रतिवेदन हेर्दा जिल्लामा महिला हिंसाका घटना बढिरहेको देखिएकाले त्यसको रोकथामको लागि सबै एकजुट हुनुपर्ने बताइन् ।

चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले इन्सेकले मानव अधिकार उल्लङ्घनका घटनाको अभिलेखिकरण गरेर राज्यलाई मानव अधिकार संरक्षणमा जिम्मेवार बनाउन सहयोग पुर्‍याएको धारणा व्यक्त गर्दै नगरपालिकाले मानव अधिकार संरक्षणमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

photo20181127rautahat (1)

photo20181127rautahat (2)

photo20181127rautahat (3)

photo20181127rautahat (4)
कोपिला तिमल्सिना