नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा सम्पन्न

  ०७५ मङ्सिर ९ गते

पाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ९ गते वीरगञ्जमा सम्पन्न गरिएको छ ।

२०१८ को जनवरीदेखि हालसम्म अभिलेख गरिएका घटनाहरूको बारेमा समीक्षा गरिएको इन्सेक प्रतिनिधि केसी लामिछानेले बताए ।

उनले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका सङ्कलित घटनासम्बन्धी तथ्याङ्क प्रस्तुत गरेका थिए ।

तथ्याङ्क अनुसार वर्षभरिमा पर्सामा १८ वर्ष भन्दा मुनिका १७ जना बालिका बलात्कृत भए । १८ वर्ष भन्दा माथिका ६ जना महिला बलात्कारबाट पीडित भए ।

यो अवधिमा यौन दुर्व्यवहारका कारण एक बालिका र बलात्कार प्रयासबाट दुई जना महिला पीडित भएका छन् ।

त्यसैगरी हत्याका नौ, मानव बेचबिखनका चारलगायत ४३ ओटा घटनाहरू समीक्षा अवधिसम्ममा प्रकाशमा आएको इन्सेक प्रतिनिधि लामिछाने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले मानव अधिकारको क्षेत्रमा काम गर्नेहरूले समन्वय कायम गरेर अर्थपूर्ण रूपमा काम गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालयका एसपी रेवती ढकालले प्रहरी मानव अधिकारको सम्मानका लागि हरहमेसा प्रतिबद्ध रहेको बताए । उनले महिला र बालबालिकाको सन्दर्भमा प्रहरी झनै सम्वेदनशील रहेको बताए ।

एसपी ढकालले मानव अधिकारको पक्षमा अझै जनचेतनामुलक कार्यक्रमहरू आवश्यक रहेको औँल्याए । उनले सामाजिक सञ्जालका कारण मानव अधिकारसम्बन्धी घटनाहरू चर्चामा आएपनि त्यसको अन्तिम साङ्गो पाङगो सम्म कसैले ध्यान नदिएकोमा भने चिन्ता गरे  ।

उनले पत्रकारहरूलाई आग्रह गर्दै भने–‘यस्ता मुद्दाहरूमा अदालतसम्म पुग्दा के हुन्छ त्यसको पनि फलोअप गरिदिनु पर्‍यो ।’

केसी लामिछाने