नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

  ०७५ मङ्सिर ६ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा मङ्सिर ५ गते बेंसीशहरमा सम्पन्न गरिएको छ ।

समीक्षा कार्यक्रममा इन्सेक लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीले जिल्लामा सन् २०१८ जनवरीदेखि हालसम्म ३७ ओटा मानव अधिकार हनन् तथा ज्यादतीका घटनाहरू घटेको बारे विवरण प्रस्तुत गरेका थिए । जसमा बलात्कार र बलात्कार प्रयासका १२, बहुविवाहको एक, जातीय विभेदका तीन र घटना घरेलु हिंसाका २१ ओटा घटना रहेका छन् ।

Photo20181122Lamjung1

कार्यक्रममा बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले पहिलेको तुलनामा मानव अधिकार हनन् तथा हिंसाका घटना प्रकाशमा आउने क्रम बढेको बताउँदै यसको नियन्त्रणको लागि समस्याको पहिचान गर्नुपर्ने बताए । प्रकाशमा आएका घटना भन्दा पनि समाजमा लुकेर रहेका घटनाको खोजी गर्न समेत अर्यालले सुझाव दिए ।

नेपाल कम्युनिष्ट पार्टी लमजुङका प्रतिनिधि हरिजङ तामाङले विभिन्न ठाउँमा महिला आर्थिक, शैक्षिक दृष्टिकोणले सक्षम भएमा महिला हिंसा न्यूनीकरण हुने भनाई राखे । महिलालाई सीमित काममा मात्रै केन्द्रीत नगरी सबै क्षेत्रमा अघि बढ्ने अवसर पाउनुपर्ने तामाङले बताए ।

नेपाली कंग्रेस, लमजुङका प्रतिनिधि नारायणबहादुर सूर्यलले पछिल्लो समय महिला र बालिका असुरक्षित हुने क्रम बढिरहेको हुँदा सरोकारवाला निकाय संवेदनशील बन्नुपर्ने बताए ।

दलबहादुर मजाकोटी