नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

  ०७५ मङसिर ५ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ४ गते गोरखा सदरमुकाममा सम्पन्न गरिएको छ ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सन् २०१८ को जनवरीदेखि सङ्कलन गरेका घटनाको समीक्षा गरिएको थियो ।

कार्यक्रममा सहभागी अधिकारकर्मीहरूले पछिल्लो समयमा जिल्लामा कथित बोक्सीको आरोपमा महिला माथि दुर्व्यवहारका घटना बढ्नुले समाज अझै विकसित नभएको चित्रण गरेको बताए ।

भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लामा अझै केही भुकम्प पीडित अनुदान रकम पाउनबाट वञ्चित रहेको जिल्ला मानव अधिकार सञ्जालका सदस्य एवम् अधिवक्ता स्थानेश्वर दवाडीले बताए ।

दवाडीले वर्ष पुस्तकमा घटना प्रदायक विषय मात्र समेटिनु भन्दा भूकम्पको पीडितको अवस्थाका विषयमा पनि उल्लेख गरिनुपर्नेमा जोड दिए ।

वास्तविक भूकम्प पीडित अझै सेवा सुविधा पाउनबाट वञ्चित रहेको अधिकारकर्मी रमेश अधिकारीले भनाई राखे ।

अझै पनि महिला हिंसासम्बन्धी धेरै घटना गाउँ स्तरमै मिलाइने क्रम जारी रहेको अर्का अधिकारकर्मी ऋषि खनालको भनाई थियो ।

खनालले गोरखाको मानव अधिकारको अवस्था चिन्ताजनक रहेकोमा घटना भइसकेपछि अभिलेखिकरण गर्नुभन्दा घटना धेरै हुने ठाउँको पहिचान गरि अधिकारकर्मीले जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

गत वर्षको तुलनामा यस वर्ष बलात्कार तथा बलात्कार प्रयासका घटना बढ्नु चिन्ताको विषय रहेको नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका कार्यसमिति सदस्य कैलाशबाबु श्रेष्ठले बताए । ‘पहिले यस्ता घटना लुकेर बस्थे अहिले बाहिर आउन थाले भन्ने पनि हो ।’–उनले भने ।

यौनजन्य हिंसाका कतिपय घटना अझै प्रहरी समक्ष आउन नसकेको जिल्ला प्रहरी कार्यालय, गोरखाका इन्स्पेक्टर झविन्द्र भट्टराईले बताए । इन्सेकले अभिलेखिकरण गरेको घटना जिल्लाका अधिकारकर्मी र सरोकारवाला पक्षका लागि साझा सम्पति भएको अधिकारकर्मी सिताराम तिवारीले बताए ।

पत्रकार भिमलाल श्रेष्ठले घटना अभिलेखिकरण गर्दा आरोपितको पनि नाम/ठेगाना उल्लेख गर्न नहुने सुझाव दिए ।

नेपाल पत्रकार महासङ्घका जिल्ला शाखा गोरखाका उपाध्यक्ष दिपक जलनले पनि प्रत्येक वर्ष महिला हिंसाका घटना बढेकोमा चिन्ता जनाउँदै कारण खोज्नुपर्ने बताए ।

मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारीले घटना अभिलेखिकरणले जिल्लाको मानव अधिकारको वास्तविक अवस्था देखाएको बताए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि हरिराम उप्रेतीले गोरखामा सन् २०१८ जनवरीदेखि हालसम्म अभिलेख गरेका ४८ ओटा घटना अभिलेख गरेको विवरण प्रस्तुत गरेका थिए ।

नागरिक तथा राजनीतिक अधिकार अन्र्तगत राज्य पक्षबाट भएका तीनजना यसैगरी गैरराज्य पक्षबाट घटनामा तीनजना महिलाको हत्या भएको विवरण इन्सेक गोरखाले अभिलेख गरेको छ ।

इन्सेक गोरखाको अभिलेख अनुसार बाल अधिकारसँग सम्बन्धित घटनामा १३ जना, महिला अधिकार अन्तर्गतका घटनामा २० जना, कथित बोक्सीको आरोपमा दुर्व्यवहारका घटनामा तीनजना र विद्यार्थी कुटपिटको घटनामा एकजना पीडित भएको लगायतका घटना प्रतिवेदनमा समेटिएको थियो ।

हरिराम उप्रेती