नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को पूर्व समीक्षा कार्यक्रम सम्पन्न

  ०७६ पुस १२ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सिरहामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको पुस्तक प्रकाशन पूर्व पुस ११ गते सिरहामा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

इन्सेक सिरहाका अनुसार सन् २०१९ को अबधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्यांकमा यो वर्षमा १०० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना संकलन गरिएको छ ।

इन्सेक सिरहाका प्रतिनिधि दुर्गा परियारले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा एक वर्षको अवधिमा परिवारजनबाट चार महिलाको हत्या, बलात्कारको ४८ घटनामा ३१ बालिका र १८ महिला गरी ४९ जना पीडित भएको तथ्याङ्क समेटिएको छ ।

कार्यक्रममा जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहले पुस्तक प्रकाशन गर्नु पूर्व नै समीक्षा गर्ने अभ्यास राम्रो भएको बताउनु भयो ।

तथ्याङ्कमा उल्लेखित घटनाहरुको कारण के हो र समाधान कसरी हुन्छ सबै सरोकारवालाहरु गम्भिर भएर लाग्नु पर्ने अवस्था आएको उहाँको भनाइ छ ।

अदालत अनुमानबाट होइन प्रमाणबाट मात्र चल्ने भएकोले अपराधको कुनै एक प्रमाणले पनि पीडितलाई न्याय दिलाउन काफी हुने भएकोले प्रमाण सुरक्षित राख्नुपर्नेमा उहाँको जोड छ ।

सरकारी वकिल एकराज अधिकारीले सरकारी निकाय, सङ्घसंस्थाहरुको पहलमा सचेतनाका कार्यक्रमहरु बढेकोले प्रहरीमा मुद्दा बढेको बताउनु भयो । सरकारी वकिलहरु पनि मानव अधिकार संरक्षणको लागि लागि परेको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी अपिलराज बोहराले मानव अधिकारको संरक्षणमा र उल्लङ्घनमा प्रहरी नै अग्रपङ्तिमा रहने बताउनु भयो ।

वर्ष पुस्तकमा प्राकृतिक श्रोत साधनको दोहन, सूचनाको हक प्रयोग गर्न नपाएको विषय, गोपनियताको हक एक्सपोज भएको, जनप्रतिनिधिहरुले विकासको काम गर्दा मुद्दा खेप्नु परेको, पुनर्स्थापना कन्द्र नहुँदा पीडितहरुले भोग्नु परेको सम्स्याहरुलाई पनि समेटनु पर्ने सुझाव डिएसपी बोहराले दिनु भएको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दकिसोर यादवले वर्ष पुस्तक सबैको लागि सन्दर्भ पुस्तिकाको रुपमा रहेको छ । यसमा समावेश हुने विषय वस्तुले सबैलाई पृष्ठपोषण दिन मद्दत पुग्ने भएकोले यसै अनुसार परिमार्जन गर्न सुझाव दिनु भएको थियो ।

दुर्गा परियार