नेपाल मानव अधिकार वर्ष पुस्तक वार्षिक सम्पादन भेला सम्पन्न

  ०७६ पुस २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि प्रदेश स्तरीय वार्षिक सम्पादन भेला पुस २३ गते सम्पन्न भएको छ । पुस २२ गतेदेखि जनकपुरधाममा सुरु भएको वार्षिक सम्पादन भेला सम्पन्न भएको हो ।

प्रदेश २ का जिल्ला प्रतिनिधिहरुले सन् २०१९ मा जिल्लामा अभिलेख गरिएका मानव अधिकार र ज्यादतीसँग सम्बन्धित घटनालाई सम्पादन गर्न वार्षिक भेलाको आयोजना गरिएको हो ।

वार्षिक सम्पादन भेलाको उद्घाटन सत्रमा इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले सन् १९९२ देखि प्रत्येक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएकाले समय परिवेश अनुसार यसको गुणस्तरीयता र विगतको अनुभवले परिस्कृत गर्दै आएको बताउनु भयो ।

उहाँले नेपालमा मानव अधिकार उल्लङ्घनका घटनादेखि लिएर सामाजिक, आर्थिक र सांस्कृतिक सवालमा इन्सेकले वर्सेनी वर्ष पुस्तकमार्फत घटनाहरुको तथ्याङ्क राख्दै आएको बताउनु भयो ।

प्रदेश २ का संयोजक राजु पासवानले प्रदेश २ मा महिला र बालबालिका बढी पीडित हुँदै आएको अभिलेख देखिएकाले हिंसामा परेका महिला तथा बालवालिकाहरुको तत्कालै उद्धार गरी सुरक्षित साथ राख्न तथा कानुनी सहायताको लागि सेफ हाउसको प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा कमी रहेको बताउनु भयो ।

इन्सेक केन्द्रीय कार्यालयका रमेशप्रसाद तिमल्सिनाले वर्षपुस्तकको प्रारम्भिक श्रोत जिल्ला प्रतिनिधि भएको उल्लेख गर्दै जिल्ला प्रतिनिधिहरुलाई पीडितको घरदैलोमा पुगी घटनाको अध्यावधिक विवरण ल्याउनुपर्ने बताउनु भयो ।

इन्सेक केन्द्रीय कार्यालयका गोविन्द त्रिपाठीले प्रहरीले घटनाहरुमा आरोपितलाई गिरफ्तार गर्दा स्वास्थ्य परीक्षण गरे नगरेको कुरा प्रतिवेदनमा राख्न जिल्ला प्रतिनिधिहरुलाई सुझाव दिनु भयो ।

नेपाल मानव अधिकार वर्ष पुस्तकलाई गुणस्तरीय र तथ्यपरक बनाउन घटना मिति, गिरफ्तार मिति, अदालतमा पेश गरेको मिति र दोषीलाई गरिएको कारबाहीलगायत घटनासँग सम्बन्धित फोटोहरु समेत समावेश गर्दै आएको उहाँले उल्लेख गर्नु भयो ।

photo20200108dhanusha1

photo20200108dhanusha2

 

दिपेन्द्रप्रसाद सिंह