नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा

  ०७६ पुस ३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानले पुस ३ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम गरेको छ ।

जिल्ला सदरमुकाम खलङ्गामा आयोजना गरिएको समीक्षा कार्यक्रमा इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले जिल्लामा सन् २०१९ जनवरीदेखि हालसम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रस्तुत गर्नुभएको थियो ।
समीक्षा कार्यक्रममा दुर्व्यवहारको एक, सम्पति क्षतीको एक, जातीय विभेदका दुई, बलात्कारका पाँच, यौन दुर्व्यवहारका पाँच, घरेलु हिंसाका २० ओटालगायत ४० ओटा घटना प्रस्तुत गरिएको हो ।

कार्यक्रमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले इन्सेकले लामो समयदेखि प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक पीडित र राज्यका लागि महत्वपुर्ण दस्तावेज तथा अभिलेखको रूपमा रहेको धारणा व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले विगतदेखि अहिलेसम्म इन्सेकलागायत नागरिक समाजसँग प्रहरीले सहकार्य गर्दै आएको र इन्सेकले जिल्लाको मानव अधिकारसँग सम्बन्धित घटनाहरूलाई प्रस्तुत गरी पुस्तक प्रकाशन गर्ने कार्यले संस्थाप्रति सवै सरोकारवालको विश्वास बढेको बताउनु भयो ।

गैरसरकारी संस्था महासङ्घका सचिव जुमानसिंह केसीले मानव अधिकारको क्षेत्र ठुलो भएकाले इन्सेकले नागरिक तथा राजनीतिक क्षेत्रको मात्र अभिलेख नराखी सबै क्षेत्रको अभिलेख राख्नुपर्ने बताउनुभयो ।

photo20191219pyuthan1

photo20191219pyuthan2

रविन्द्र पाण्डे