नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

  ०७६ असार १८ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १८ गते राजविराजमा सम्पन्न भएको छ ।

इन्सेक सप्तरीका अनुसार सन् २०१९ को ६ महिनाको अवधिमा ८५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ ।

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार यस अवधिमा राज्यबाट एक युवक, अज्ञात पक्षबाट एक ज्येष्ठ नागरिक दम्पति, छोराबाट एक ज्येष्ठ नागरिक, बुवाआमाबाट एक बालिका, पति, देवर र ससुराबाट एक महिला र युवाहरूको समूहबाट एक शिक्षक गरी सात जनाको हत्याका घटना भयो । गोली प्रहार, बम विष्फोट, अपहरणका एक/एक र कुटपिटका दुई घटना भए ।

सन् २०१८ को सुरूको ६ महिनाको अवधिमा २१ ओटा बलात्कारका घटनामा २२ जना बालिका पीडित भएका थिए । बलात्कारका घटनाबाट २०१९ को ६ महिनाको अवधिमा १६ बालिका पीडित भए ।

बालिकामाथि यौन दुव्र्यवहारका चार, बालबालिका विरूद्धको कसूर, बालबालिका दुरूपयोगका एक/एक घटना भए । अपरहणका पाँच घटनामा चार बालिका र एक बालक पीडित भए ।

अपहरण घटनाका दुई बालिका र आरोपितहरू फेला परेका छैनन् । दुई बालक र एक बालकलाई प्रहरीले उद्धार गरी आरोपितहरूलाई गिरफ्तार गरेर कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

महिला बलात्कारका सात घटनामा बोल्न नसक्ने र राम्रो बोल्न नसक्ने समेत गरी सात जना पीडित भए । बलात्कार घटनाका आरोपित ६ जना गिरफ्तार भए भने दुई जना फरार छन् ।

बलात्कार प्रयासका एक आरोपितसमेत गिरफ्तार भए । गत वर्षको सुरूको ६ महिनामा महिला बलात्कारका तीन र यौन दुर्व्यवहारका तीन घटना अभिलेख भएको थियो ।

गत वर्षको पहिलो ६ महिनामा बहुविवाहका दुई घटना अभिलेख भएकोमा यो वर्षको ६ महिनाको अवधिमा आठ ओटा घटना सार्वजनिक भए ।

आठ घटनामा आठ जना फरार छन्, एक जना पुर्पक्षका लागि थुनामा, पाँच जना धरौटीमा रिहा भएका छन् भने दुई जना असार १३ गते गिरफ्तार भएका छन् ।

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका चार घटना अभिलेख गरिएकोमा तीन ओटा घटनामा जिल्ला समन्वय समितिको मोटरसाइकल, सशस्त्र प्रहरीको सवारी साधन, शिक्षा समन्वय समितिको कार्यालयका झ्यालका सिसाहरूमा ढुङ्गा प्रहार गरी प्रदर्शनकारीले क्षति पु¥याए । कालाजारका एक बिरामीले उपचार नपाएर घरमै रहको घटना समेत प्रतिवेदनमा अभिलेख गरिएको छ ।

सन् २०१९ को ६ महिनाको अवधिमा इन्सेकले जिल्लामा घटेका २५ ओटा गम्भीर खालका घरेलु हिंसाका घटना अभिलेख गरेको छ ।

पति र घर परिवारका सदस्यहरूले विवाह दर्ता, जन्म दर्ता र नागरिकता बनाउन अस्विकार गरेर, थप दाइजो मागेर, छोरी मात्र भएको दोष दिएर, अर्को विवाह गर्न खोजेर, बहुविवाह गरेर, चरित्रहिनको आरोप लगाएर, मादक पदार्थ सेवन गरेर घरेलु हिंसा गरेको पाइएको छ ।

अभिलेखित घरेलु हिंसाका घटनामा जिल्ला अदालत गएका १०, जिल्ला प्रहरी कार्यालय गएका १५ र उजुरी नगरेको एउटा घटना छ ।

जिल्ला प्रहरी कार्यालय जाने पीडितहरू सहमतिको चाहनाले जाने गरे पनि अदालत जाने पीडितहरूले समाज र प्रहरीले मिलाउन नसकेपछि बाध्य भएर जाने गरेको बताएका छन् ।

अधिकांश पीडितहरू माइतीघरमा विस्थापित हुने गरेको र केहीले सुरक्षित आश्रय केन्द्रमा आश्रय लिने गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा सहमति भएर घर फर्किएकाहरू केहीको मेलमिलाप हुने र केही पुनः घरेलु हिंसामा पर्ने गरेका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाले अदालतबाट सबै थोक खोजेर नपाइने भन्दै सबैले आ–आफ्नो भूमिका प्रभावकारी बनाउनु पर्ने बताए ।

अदालतले कानुनी व्यवस्थाअनुसार प्रमाणका आधारमा फैसला गर्नुपर्ने भएकाले प्रमाण जुटाउने प्रहरीलाई कार्यालयमै बसेर चार किल्ला प्रमाणित गरी मुचुल्का तयार नगर्न र नाटकीय ढङ्गले काल्पनिक विवरणहरू प्रतिवेदनमा उल्लेख नगर्न सुझाव दिए ।

कार्यक्रममा वक्ताहरूले हिंसा नियन्त्रणका लागि समन्वय र सहकार्यका साथ सबैको भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । इन्सेकले घटनाहरूको अनुसन्धान र अभिलेख मात्र नगरी समाधानको उपायसहित कार्यक्षेत्र विस्तार गर्न वक्ताहरूले सुझाए ।

photo20190703saptari (1)

photo20190703saptari (2)

photo20190703saptari (3)

photo20190703saptari (4)

photo20190703saptari (5)

photo20190703saptari (6)

photo20190703saptari (7)

मनोहरकुमार पोखरेल