नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा

  ०७५ असार ३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३ गते लहानमा सम्पन्न गरिएको छ ।

इन्सेक सिरहाको आयोजना र मानव अधिकार संरक्षण केन्द्र सञ्जालको सहकार्यमा समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले सन् २०१८ को जनवरीदेखि जुन १० सम्म ५२ वटा घटना सङ्कलन गरेको जानकारी दिए ।

अभिलेखित घटनामा गैरराज्य तर्फबाट भएका घटनामा हत्याका पाँच वटा घटनामा पाँच जना महिला पीडित भएका छन् ।

घरेलु हिंसामा पाँच जना, बलात्कारका घटनामा ११ बालिका सहित १३ जना, यौन दुर्व्यवहारका घटनामा पाँच जना बालिका, बलात्कार प्रयासका घटनामा १६ जना महिला, बहुविवाहका घटनामासात जना र बम विष्फोटका दुई वटा घटनामा पाँच महिलासहित नौ जना पीडित भएका छन् ।

इलाका प्रशासन कार्यालयका प्रमुख सोमप्रसाद भट्टराईले प्रतिवेदनमा राज्य पक्षबाट घटना नभएको पाइए पनि प्रहरी प्रशासनले घटनाहरूको सुक्ष्म अनुसन्धान गरी प्रकृयाहरू बढाउनु पर्ने बताए ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दका अनुसार मानव अधिकारको सवालमा प्रहरी सकृय भएकाले आफ्नो तर्फबाट सजग रहने बताए । घटनाहरू न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक रहेकाले सहकार्य गरी आफू अगाडि बढ्ने बताए ।

नेपाल पत्रकार महासङ्घ सिरहाका सभापति दिनेश्वर गुप्ताले बलात्कारका घटनाहरू बढेकाले सबैको सहकार्यमा सचेतना फैलाउन आवश्यक रहेको बताए । मानव अधिकार संरक्षण केन्द्र सञ्जालका संयोजक सुनिलकुमार साहका अनुसार इन्सेकको प्रतिवेदनले राज्यलाई कानुनहरू बनाउन दबाव पुग्ने भएकोले घटनाहरूको कारण र विश्लेषण पनि इन्सेकले गर्नु आवश्यक रहेको बताए ।

1

1

1

1

1

दुर्गा परियार