निर्वाचन सफल पार्न अधिकारकर्मीको सक्रियता आवश्यकः मुख्य निर्वाचन अधिकृत

  ०७४ असार १० गते

जिल्ला अदालत दार्चुलाका जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले मानव अधिकारका सवाललाई निर्वाचन केन्द्रीत गर्न सुझाव दिएका छन् ।

Photo20170624Darchula

इन्सेक दार्चुलाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठीमा बोल्दै नागरिक तथा राजनीतिक अधिकार सुनिश्चित हुने स्थानीय तह निर्वाचन सफल पार्न अधिकारकर्मीले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका हुन् ।

ऐतिहासिक रूपमा हुन गइरहेको स्थानीय तहको निर्वाचनले नागरिक तथा राजनीतिक अधिकार सुनिश्चित गर्न अब मानव अधिकारको विषय निर्वाचन केन्द्रीत गर्न उनले सुझाव दिए । निर्वाचनमा हुने हरेक गतिविधि, मताधिकार प्रयोगको अवस्थालगायतका विषयमा निर्वाचन अधिकृतको कार्यालयलाई समेत इन्सेकले अुनगमन गरी सहयोग पुर्‍याउनुपर्ने उनले बताए ।

यस्तै अर्थ मन्त्रालयका सहसचिव एवम् निर्वाचन अनुगमनको लागि दार्चुला आइपुगेका धनीराम शर्माले निर्वाचन स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गर्न इन्सेकको विशेष भूमिका रहने बताए ।

इन्सेक स्वयम् निर्वाचन पर्यवेक्षणमा खटिएको हुँदा निर्वाचनलाई स्वच्छ, मर्यादित बनाउन सकेमात्र लोकतन्त्र बलियो हुने भन्दै निर्वाचनको गतिविधिमा मानव अधिकारको अनुगमन गर्न उनले आग्रह गरे ।

उनले मानव अधिकारको विषय अहिले विकास अवधारणामा अघि बढेको भन्दै मानव अधिकारलाई विकास सँगै जोडेर लिनुपर्ने सुझाए । राज्यको स्रोतमाथि मानव अधिकारकर्मीले निगरानी गरेर विकासको अधिकार सुनिश्चित गर्न उनले सुझाव दिए । 'अझै विकासको गतिमा पछाडी परेको दुर्गम क्षेत्रमा विकासको अधिकारलाई महत्वको साथ उठान गर्नुस ।'-उनले भने ।

प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले निर्वाचनको समयमा हुने मानव अधिकार उल्लङ्घनका घटनाहरूलाइ विशेष महत्वका साथ उठान गर्न इन्सेकलाई सुझाव दिए । उनले पछिल्लो समय यार्सागुम्बाको कारण बाल अधिकारको क्षेत्र बढी हनन् भएको भन्दै यसलाई अझै गाम्भीर्यताका साथ उठान गर्नुपर्ने बताए ।

इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले जिल्लाको मानव अधिकारको अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । इन्सेक दार्चुलाका अनुसार पछिल्लो समय जिल्लामा महिला अधिकार उल्लङ्घनका घटनामा कमी आएको छ । जनवरीदेखि जुनसम्मको अवधिमा दार्चुलामा बलात्कारको एक, घरेलु हिंसाका १४ लगायतका घटना समावेश गरिएको भएको उल्लेख गरिएको छ ।

मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत एक र कर्तव्य ज्यानका पाँच ओटा घटना घटेको इन्सेकले जनाएको छ । यसैगरी दार्चुलामा ६ महिनाको अवधिमा १५ जनाले ज्यान गुमाएका छन् । जसमा नौ जना बालबालिका रहेका छन् । यार्सागुम्बा खोजीका क्रममा अनाहकमै बालबालिकाले ज्यान गुमाएको इन्सेक प्रतिनिधि कार्कीले बताए ।

अनलाइन डेस्क