निमुखाहरूको मानव अधिकार प्रवर्धन गर्न स्वरोजगारमूलक कार्यक्रम र सुशासनमा जोड 

  ०७४ जेठ २४ गते

डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले निमुखा गरीब विपन्नहरूको मानव अधिकार प्रवर्धन निम्ति आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा स्वरोजमूलक कार्यक्रम र सुशासन अभिबृद्धिमा जोड दिने बताएका छन् ।

इन्सेकको इएलपी कार्यक्रम अन्तर्गत जेठ २४ गते चुप्रामा भएको सेवाग्राही र सेवाप्रदायकबिच अन्तरसम्वाद कार्यक्रममा उनले सो जानकारी दिएका हुन् ।

स्वरोजगारमूलक कार्यक्रममध्ये कृषिलाई आधुनिकीकरण, युवा उत्प्रेरणा र महिला तथा बालबालिकाहरूको सशक्तीकरणमा बढी ध्यान दिइने अध्यक्ष मल्लले प्रष्ट पारे ।

अनुभवको कमीले अघिल्लो वर्षको बजेट कार्यक्रममा लक्षित कार्यक्रम कमी भएको महसुस भएको उनले सुनाए ।

अध्यक्ष मल्लले चालु आर्थिक वर्षको विकास कार्यक्रममा महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक र जनजाति लक्षित कार्यक्रम नसमेटिएका विषयमा सेवाग्राहीबाट उठेका प्रश्नहरूको जबाफ दिँदै समृद्ध नेपाल र सुखी जनता बनाउन उत्पादनमूलक काम गर्न बजेटको सदुपयोग गरिने बताए ।

डुङ्गेश्वर गाउँपालिका–१ का वडाध्यक्ष लोकबहादुर डाँगीले अबका योजनाहरू टोल तथा वडा भेलामा आएका योजनाहरू मात्र प्राथमिकतामा पर्ने भएकाले समुदायस्तरबाट स्थानीय आवश्यकताहरू सङ्कलन गरी पठाउन सेवाग्राहीहरूलाई आग्रह गरे ।

वडा नं. ६ का वडाध्यक्ष बमबहादुर बीसीले सार्वजनिक सुनुवाइ वा यस्ता बहस बाहेक अरू बेला पनि विकास निर्माणका कार्यक्रमहरूको गुणस्तर तथा पारदर्शिताबारे प्रश्न गर्ने र समयमा सरोकारवालाहरूलाई सजग गराउन आग्रह गरे ।

अमर सुनार