निगरानी समूहको ध्यानाकर्षणपछि स्वास्थ्य केन्द्रमा औषधि सहज

  ०७३ माघ २४ गते

मानवअधिकार निगरानी समुहको अनुगमन र ध्यानाकर्षापछि  कपिलवस्तु जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा औषधि पाउन थालिएको छ । एक महिनाअघि निगरानी समूहको अनुगमनका क्रममा अस्पताल र स्वास्थ संस्थाहरूमा औषधिको अभाव भएको भेटिएपछि समूहले जनस्वास्थ्य कार्यालयको ध्यानाकर्षण गराएको थियो ।

ध्यानाकर्षणपछि जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक परिमाणमा औषधि खरिद गरी स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराएको जनाएको छ । इन्सेकआवद्ध मानव अधिकार निगरानी समूहले दक्षिणी गाविसका स्वास्थ्य चौकीहरूमा औषधिको अभाव रहेको भन्दै तत्काल उपलब्ध गराउन जनस्वास्थ्य प्रमुखलाई आग्रह गरेको थियो ।

भेटका क्रममा जनस्वास्थ्य प्रमुख योगेन्द्र भगतले औषधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । टेन्डरमार्फ किनिएका २४ प्रकारका औषधिहरू माघ २३ गतेदेखि स्थानीय स्वास्थ्य संस्थाहरूमा पठाउन थालिएको जनस्वास्थ्य प्रमुख योगेन्द्र भगतले जानकारी दिए ।

नन्दराम पौडेल