नागरिक समाज र सञ्चार जगत्को सहकार्य आवश्यक

  ०७६ माघ १० गते

विकासको लागि नागरिक समाज र सञ्चार जगत्को सहकार्य सधैं आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत इन्सेकको आयोजनामा माघ ९ गते विदुरमा सञ्चालन भएको ‘विकासका लागि नागरिक समाज र सञ्चार जगत्बीच सहकार्य’ विषयक अन्तक्र्रियामा सहभागीहरूले यी दुवै एक अर्काका परिपूरक भएकाले विकासको लागि सहकार्यको खाँचो रहेका बताएका हुन् ।

नेपालको विभिन्न आन्दोलन र परिवर्तनमा नागरिक समाजको उल्लेख्य योगदान रहेको उल्लेख गर्दै अब मुलुकको विकास, समृद्धिको लागि नागरिक समाज र सञ्चार जगतसँग सहकार्य गरि अघि बढ्नुको विकल्प नभएको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कपिलदेव खनालले बताउनुभयो ।

संक्षिप्त कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष खनालले सञ्चार जगतले समाजका हरेक खालको सवाल उठाउने र त्यस्ता सवाल लिएर नागरिक समाजले पैरवी गरे मात्रै विकासका काम प्रभावकारी हुने बताउनुभयो ।

नेपाल नागरिक समाजका जिल्ला अध्यक्ष बाबुराम लामिछानेले विकास निर्माण स्थानीय सरकार आए पनि परिवर्तन अनुभूति हुने गरी विकासका काम नभएको देखिएकोले यस तर्फ सञ्चार जगतले आफ्ना सञ्चारमाध्यममार्फत खबरदारी गर्नु पर्ने बताउनुभयो । उहाँले स्थानीय तहमा पुगेका हक अधिकारको कार्यान्वयन र विकास निर्माणका अवस्थाको अनुगमन गर्न नागरिक समाज र सञ्चारnuwakot fhi photo (1)कर्मी एकसाथ लागि पर्ने बताउनुभयो ।

नागरिक समाजको अगुवाईमा विगतमा नुवाकोटमा सडक विस्तार सहज भएको र अहिले मुआब्जाको सवाललाई अघि बढाएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पण्डितले बताउनुभयो ।

सञ्जीवनी रेडियोका स्टेसन म्यानेजर गमला लामाले नागरिक समाजले नागरिकका सरोकारका विभिन्न सवालहरू निरन्तर उठाउने र त्यसलाई सञ्चार जगतले सार्वजनिक माध्यममार्फत बाहिर ल्याउने गर्दा प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रममा बार एसोसिएसनका जिल्ला अध्यक्ष देवराज कँडेलले नागरिक समाज र सञ्चार जगतको सहकार्यले सकारात्मक विकास र बेथिती अन्त्यको लागि आधार सिर्जना गर्ने बताउनुभयो ।

गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष मीनकुमार केसीले नागरिक समाजहरू स्वतन्त्र रुपमा सक्रिय हुने भएकोले कुनै कामको लागि सक्रिय भएर पछि केही कमजोर जस्तो देखिए पनि नागरिक समाज निरन्तर सक्रिय भईरहेको हुने भएकोले सञ्चार जगत्को सहकार्यले प्रभावकारी विकासको लागि भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा सीडीसी नेपालका अध्यक्ष नारायण नेपाल, नेपाल आदीवासी जनजाति महासंघका अध्यक्ष भगवान रानामगर लगायतले सहकार्यको अपरिहार्यतामाथि ऐक्यबद्धता जनाउँदै आआफ्नो धारणा राख्नु भएको थियो ।

नवदीप श्रेष्ठ