नागरिकको आर्थिक अवस्थालाई पनि मानव अधिकारको विषय बनाइनु पर्छः उपप्रमुख खातुन

  ०७५ आसार १६ गते

पर्सा जिल्लामा सन् २०१८ को पहिलो ६ महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २२ ओटा घटना अभिलेख गरिएको इन्सेक पर्सा प्रतिनिधि केसी लामिछानेले बताएका छन् ।

Photo20180630Parsa

पोखरिया नगरपालिकाको श्री जिल्ला उच्चाङ्गल प्राविधिक उच्च माध्यामिक विद्यालयमा असार १४ गते गरिएको समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

पोखरिया नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक सलमा खातुनले महानगरभन्दा बाहिर आएर वर्षपुस्तकमा समेटिने घटनाको समीक्षा हुनुलाई सुखद् भएको बताइन् । उनले सामाजिक न्यायमा पहुँच हुने व्यवस्था निर्माण अधिकारकर्मीले अहिले पनि काम गर्न आवश्यक रहेको बताइन । उपप्रमुख खातुनले विकास निर्माणका कामबाट नागरिकले प्राप्त गर्ने उपलब्धिसमेत मानव अधिकारको प्रत्याभूतिसँग जोडिने बताइन् । उनले नागरिकको आर्थिक समृद्धिको अवस्था र स्थितिलाई पनि मानव अधिकारको विषय बनाइनु पर्नेमा जोड दिइन् ।

उनले शिक्षा स्वास्थ्य वतावरण रोजगार जस्ता मौलिक हकहरूको कार्यान्वयनको अवस्थाको विषयमा मानव अधिकारको क्षेत्रबाट पनि निगरानी हुनु पर्ने बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका सहसचिव आर.के.पटेलले इन्सेकले सार्वजनिक गरेको घटनाभन्दा पनि बढी सङ्ख्या हुनसक्ने बताए । उनले इन्सेकको पहुँच भन्दा बाहिर घटना रहन सक्ने चर्चा गर्दै कार्यक्रका सहभागिहरूलाई आफ्नो ठाउँमा भएका घटनाहरूको सूचना इन्सेकलाई उपलब्ध गराउन समेत आग्रह गरेका थिए ।

गैरसरकारी संस्था महासङ्घ पर्साका अध्यक्ष छठु साहले मानव अधिकारको सम्मान र प्रत्याभूतिको वतावरण मनाउन स्थानीय सरकारलाई मानव अधिकारमैत्री बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा इन्सेक प्रतिनिधि लामिछानेले अभिलेखित घटनाका बारेमा जानकारी दिए । बलात्कार प्रयासका दुई, बलात्कारका १० ओटा घटनामध्ये १८ वर्षमुनीका बालिका पीडित भएका पाँच ओटा घटना अभिलेख गरिएको उनले बताए ।

मानव बेचबिखनका तीन, बहुविवाहको एक र आमाबावु मिली छोरीको हत्या गरिएको एउटा घटना अभिलेख गरिएको उनले बताए ।

केसी लामिछाने