धुलो, धुवाँ र ध्वनि तत्काल हटाउन उद्योग प्रभावितहरूको माग

  ०७६ माघ २२ गते

घोराही सिमेन्ट उद्योगबाट उत्सर्जन हुने धुलो, धुँवा र ध्वनि तत्काल हटाउन उद्योग प्रभावितहरूले  माग गरेका छन ।

अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक), फियान नेपालको सहकार्य र घोराही उपमनपा–४ को आयोजनामा माघ २१ गते घोराही सिमेन्ट उद्योगले उद्योग  वरपर पारेको प्रभावका विषयमा आयोजित अन्तरक्रियामा उक्त माग गरेका हुन् ।

उद्योग प्रभावित सरोकार समितिका संयोजक भरतराज देवकोटाले उद्योग प्रभावितहरूले  धुलो, धुवाँ र ध्वनि नहटाए अदालत जाने चेतावनी समेत दिएका छन्  । देवकोटाले उद्योगले स्थानीय जनतालाई झुक्याएर उद्योगको क्षमतावृद्धि गरेको भन्दै तत्काल बन्द गर्न माग गर्नुभयो । पहिलेकै उद्योग प्लान्टका कारण कृषि उत्पादन नहुने, ध्वनिका कारण सुत्न नसकिने र स्थानीयको उठिवास लाग्ने अवस्था आएको बताउदै देवकोटाले थप ३ हजार मेट्रिक टन क्षमताको अर्को उद्योग थपिएपछि थप समस्या भएको बताउनु भयो ।  उहाँले झुक्याएर निर्माण गरिएको ठुलो क्षमताको सिमेन्ट प्लान्ट बन्द नगरिए अदालत जाने चेतावनी दिनु भयो ।

उद्योग पीडित डा. गोविन्द आचार्यले सिमेन्ट उद्योगका कारण हुने विकास आफूहरूलाई  नचाहिएको बताउनु भयो ।  ‘उद्योग चलाउने हो भने तत्काल धुलो, धुवाँ र ध्वनि हटाऊ ।’, उहाँले भन्नु भयो । उद्योग नै बन्द गर्नुपर्छ भन्ने आफूहरुको माग नभएको भन्दै कम्तीमा उद्योग चलाउन उद्योगबाट उड्ने धुलो, धुवाँ र ध्वनि बन्द गरिनुपर्ने बताउनु भयो । धुलो र ध्वनिले रातमा सुत्नसमेत नपाइएको भन्दै डा. आचार्यले भन्नुभयो,– ‘रातमा कम्तिमा ६ घण्टामात्रै भएपनि आनन्दले सुत्न त देऊ ।’

पीडितहरूले घोराही सिमेन्टले मानवीय स्वास्थ्य, कृषि उत्पादन र दैनिक जीवनमा समस्या पारेको भन्दै उद्योगले सरकार र स्थानीयँंग गरेका प्रतिवद्धता कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए । घोराही सिमेन्टले पहिले २ हजार र अहिले थप २ हजार मेट्रिक टन क्षमताको गरि दुई वटा प्लान्ट तयार गरेको छ । बाक्लो बस्तीमा स्थापना गरिएको घोराही सिमेन्टले केही व्यक्तिहरूलाई प्रलोभनमा पारेर सिंगो लक्ष्मीपुर र रामपुर तथा दाङबासीहरुको स्वास्थ्यमा खेलवाड गरिरहेको नागरिक समाज दाङका संयोजक चन्दराज पन्तले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले घोराही सिमेन्टबाट उत्सर्जन हुने धुलो, धुवाँ र ध्वनिलाई कम गर्न आग्रह गर्नुभएको छ । प्रजिअ रिजालले उद्योगले सामाजिक उत्तरदायित्व भुल्न नहुने बताउदै जनताको माग पुरा गरेर उद्योग  चलाउन आग्रह गरेका थए । घोराही उपमनपाका मेयर नरुलाल चौधरीले जनताको आङ्काक्षा विपरित उद्योग चल्न नसक्ने भन्दै जनस्वास्थ्यमा हुने असरलाई कम गरेरमात्रै उद्योग सञ्चालन गर्न आग्रह गर्नुभयो ।

घोराही सिमेन्टका प्रतिनिधि विकास शर्माले उद्योगले धुलो, धुवाँ र ध्वनी कम गर्न सबैभन्दा राम्रो उपकरण जोडिएको र थप सहज बनाउनका लागि अत्याधुनिक अर्को प्लान्ट जडान गरिएको बताउनुभयो । उहाँले उद्योगप्रति शङ्का लागे केन्द्रस्तरबाटै अनुगमन गर्न आग्रह गर्नुभयो । उहाँले धुलो, धुवाँ र ध्वनि रोक्न उद्योग लागि परेको बताउनु भयो ।

 

2020020401dang

2020020402dang

जयनारायण पुन