दैलेख कारागारमा मनोरञ्जन, पुस्तक र औषधि अभाव

  ०७५ वैशाख ८ गते

दैलेख कारागारका कैदी तथा बन्दीहरूले मनोरञ्जनका लागि खेलकुद सामग्री, पुस्तकालयमा ज्ञानवर्द्धक पुस्तक र बिरामी पर्दा औषधिको अभाव रहेको बताएका छन् ।

Photo20180421Dailekh (1)

कारागारको अनुगमन गर्न वैशाख ७ गते त्यहाँ पुगेका अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जका कार्यालयका संयोजक भोला महत र सलिना भट्टराईको टोलीसँग कैदी तथा बन्दीहरूले ती समस्या दर्साएका हुन् ।

कैदी तथा बन्दीहरूसँग भएको भेटमा कारागार हाताभित्रै भलिबल खेल्ने ठाउँ बनाइए पनि काँडेतारमा ठोक्किएर २-४ दिनमै बल फुट्ने गरेको बन्दी चौकीदार जीवन शाहीले बताए ।

सामान्य विरामी पर्दा सिटामोल, ब्रुफिन पाइए पनि बन्दीहरू मध्ये केही जनाको किड्नी, मुटुरोग लगायतका दीर्घ रोगीहरूको उपचारमा कारागारबाट पहल हुन नसकेको बन्दी नाइके कालु चन्दले समस्या सुनाए ।

Photo20180421Dailekh (2)

कारागारभित्र पुस्तकालय राखिए पनि नेपालको संविधान, रामायण, महाभारत लगायतका ज्ञानवर्द्धक पुस्तक धेरै निकायसँग माग गर्दा पनि पाउन नसकिएको बन्दी लाइब्रेरियन भक्तबहादुर खड्काले दुःखेसो पोखे ।

अनुगमन टोलीसँगै रहेका सीअहेव इन्द्रबहादुर थापाले बाहिर उपचार गर्न प्रक्रियागत जटिलताका कारण दीर्घरोगीलाई उपचारको प्रयत्न गर्न नसकिएको बताए ।

महिला कैदी तथा बन्दीहरूले आफूहरूको रुची अनुसारका सीप, इलम सिक्ने घरेलु उद्यमका तालिमहरू आवश्यक रहेको कैदी महिला पवित्रा परियारले बताइन् ।

इन्सेकको अनुगमन टोलीको साथमा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार पनि सहभागी थिए ।

अरु जिल्लाबाट स्थानान्तरण भई आएका कैदीहरूको चापले झण्डै डेढ सय जना बन्दी हुँदा अघिल्ला वर्षहरूमा खानेपानीको समस्या भए पनि अहिले त्यो संख्या पनि घटेको र जिल्ला सदरमुकाममा ६ महिना अघि सहारेको खानेपानीको झरे यता खानेपानीको समस्या हटेको बन्दीहरूले नै बताएका छन् ।

दैलेख कारगारमा अहिले ११ जना महिलासहित १ सय १३ जना बन्दी अहिले थुनामा रहेका छन् । जम्मा बन्दी मध्ये मुद्दा फैसला हुन बाँकी रहेका ८ जना थुनुवा छन् भने १ सय ५ जना चाहिं अदालतको फैसला अनुसार कैद भुक्तान गर्दै गरेका छन् ।

अमर सुनार