तहगत सरकारले भूकम्पबाट विस्थापितको सवाल बिर्सेको पीडितहरूको आरोप

  ०७५ असोज १५ गते

तीनै तहका सरकारले विस्थापितको समस्या समाधानमा चासो नदेखाएको भूकम्पका कारण विस्थपितहरूले आरोप लगाएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असोज १३ गते गोसाइकुण्ड गाउँपालिकामा भएको भूकम्प प्रभावित विस्थापितहरूको सवाल विषयक सार्वजनिक सुनुवाइमा विस्थापित तथा सरोकारवालाहरूले विस्थापितको समस्या समाधानका लागि चासो नदिएको गुनासो गरेका हुन् ।

साविकको हाकु र डाडागाउँ गाविसबाट विस्थापित भएकाहरू अहिलेसम्म पनि बोगटीटार, खाल्टेर नौबिसेमा बस्दै आएका छन् ।

विस्थापित क्याम्पमा बस्दै आएका छेकु लामा, बुटी तामाङ, पूर्ण घलेलगायतले भूकम्पको ४० महिनामा समेत विस्थापित बस्ती स्थानान्तरण हुन नसकेको बताए ।

बस्ती स्थानान्तरणमा सहजिकरण गरिरहेका भूमि अधिकारकर्मी विस्वास नेपालीले जिल्लामा अहिलेसम्म करिव ४३ प्रतिशत परिवारको मात्रै स्थानान्तरण भएको बताए । उनले जिल्लामा ८ सय ४४ परिवार उच्च जोखिममा रहेकामध्ये ३ सय ५७ परिवारको मात्र बस्ती स्थानान्तरण भएको बताए ।

उनका अनुसार गोसाइँकुण्ड गाउँपालिकामा २० मध्ये १३, कालिका गाउँपालिकामा २५ मध्ये १४, नौकुण्ड गाउँपालिकामा १ सय २६ मध्ये १९, आमाछोदिङ्मो गाउँपालिकामा २ सय ७२ मध्ये १ सय २४ र उत्तरगया गाउँपालिकामा ४ सय ६३ मध्ये १ सय ८७ परिवारको जोखिम युक्त बस्ती स्थानान्तरण भएको छ ।

उत्तरगया ५ खाल्टेबगरमा रहेको बिस्थापित क्याम्पमा मात्र २ सय ५९ परिवार रहेका छन् । खेतीपाती छैन, ज्याला मजदुरी गरेर बाँच्न कठिन भएको छ । बालबालिका पढाउन विद्यालय पनि छैन । क्याम्पमा बसेर जीविका चलाउन कठिन भएको स्थानीय पूर्ण घलेले बताए ।

जोखिम युक्त बस्तीबाट बिस्थापित भएर उत्तरगया ५ खल्टे बगरमा बस्दै आएकाहरूलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण नभएको गुनासो छ । स्थानीय छेकु लामाले भने–“यहाँको खाल्टे बस्ती सुरक्षित गरेर बस्ती बसाउने वा अन्यत्र सार्ने अन्यौलमा कति दिन बस्ने  हामी त यही बस्न तयार छौँ ।”

विस्थापित क्याम्पका आशा लामाले ४० महिनासम्म हाम्रो  सुरक्षित आवासको अधिकार सुरक्षित भएन सरकारले हाम्रो एजेण्डा बिर्सेको जस्तो लागेको उनले बताए ।

कार्यक्रममा उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङले बस्ती स्थानान्तरणका लागि सहजिरकण गरेपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय कार्यालयले कहिले खाल्टेमा बस्न मिल्ने त कहिले जोखिम भनेकोले समस्या भएको बताइन् । अब यसको चाँढै निकास निस्कने उनले बतइन् ।
हेमनाथ खतिवडा