जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

  ०७४ पुस २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक पुस २० गते जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको अध्यक्षतामा बसेको भएको छ ।

बैठकमा शिक्षा, स्वास्थ्य, कृषि र पशु सेवालगायतका सेवाप्रदायक निकायसँग जिल्लास्तरीय मानव अधिकार निगरानी समूह तथा पत्रकारलगायतले साक्षात्कार गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा बैठकका अध्यक्ष कृष्णगोपाल तामाङले कार्यक्रमको प्रभावले उपलब्धि भएका महत्वपूर्ण कुराहरू थलोमै गएर अनुगमन गर्नुपर्ने विचार राखेका थिए । थोरै बजेटमा धेरै कार्यक्रम सञ्चालन गरेको भन्दै जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले जिल्लाका सबै वडाहरूमा मानव अधिकारका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।

सेवा प्रदायक निकायले सेवा प्रदान गर्दा इन्सेकको कार्यक्रम सञ्चालित स्थानहरूलाई प्राथामिकता दिने शिक्षा, स्वास्थ्य, कृषि र पशुसेवा कार्यालयका प्रमुखहरूले बताए ।

नातिबावु धिताल