जिम्मेवार निकायलाई जबाफदेही बनाउन नागरिक खबरदारीमा सरोकारवालाको जोड

  ०७४ कात्तिक १६ गते

विकास, सुशासन र समृद्धिका लागि जिम्मेवार निकायलाई जबाफदेही बनाउन नागरिक खबरदारी रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बीरगञ्जमा कात्तिक १५ गते आयोजना गरेको मिडिया साझेदारी बैठकमा सरोकारवालाले यस्तो कुरा बताएका हुन् ।

मानव अधिकारका विभिन्न पक्षहरू हिजोका दिनमा जति केन्द्रीत भएका थिए आज त्यसका परिर्वतन आएको उनीहरूको भनाई थियो । सभा, सम्मेलन, आन्दोलन, हत्या तथा हिंसा जस्ता विषय मानव अधिकारको प्रथामिकताको क्षेत्रमा पर्ने भएपनि आजको दिनमा नागरिकले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोगको वातावरण कस्तो छ ? भन्ने विषयले प्रथामिकता पाउनु पर्नेमा सरोकारवालाहरूको जोड थियो ।

कार्यक्रममा अधिकारकर्मी एवम् अधिवक्ता कमलमोहन पोख्रेलले सामाजिक क्षेत्रमा जागरणको अभियान सञ्चालन आजको आवश्यकता रहेको बताए ।  राजनीतिक मुद्दाहरूको व्यवस्थापनपछि अबको मुद्दा भनेको समृद्धि पाउनका लागि सबै जिम्मेवार र जबाफदेही हुनुपर्ने भएकाले अभियान आवश्यक रहेको उनको भनाई थियो ।

अधिवक्ता दर्शना झाले स्थानीय तहमा जनप्रतिनिधिहरूको आगमनपछि परिर्वतन देखा परेको बताइन् । "जनशक्ति, परिवेश, बजेट त्यस्तै छ । तर, आज परिर्वतनको अनुभूती गर्न पाइएको छ ।"-उनले भनिन् । पत्रकार कविता खडकाले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनधिहरूको क्षमता विकासमा काम हुने पर्ने बताइन् । उनले महिलाहरूको क्षमता विकास आवश्यक छ र यो सञ्चार क्षेत्रका लागि मुद्धा बन्नु पर्ने उनको तर्क थियो ।

पत्रकार तुलसी भण्डारीले समाजमा रहेको विकृति बाहिर ल्याउन जरूरी छ तर इन्सेकले त्यसको लागि मिडियासँग साझेदारी गर्नु पर्नेमा जोड दिए । साझेदारीको मोडालिटी कस्तो हुने भन्ने उनको भनाई थियो ।

अधिकारकर्मी निला रामले अवको दिनमा योग्यतालाई सञ्चार क्षेत्रले मुद्दा बनाउनु पर्ने बिचार ब्यक्त गरिन् । जिम्मेवारी पाउनु मात्र ठूलो कुरा भएन जिम्मेवारी अनुसारको भूमिका निर्वाह हुन सक्यो भने मात्र अधिकारमैत्री वातावरण बन्नेमा उनको जोड थियो ।

कार्यक्रमा मानव अधिकार निगरानी समूह गादीका अध्यक्ष बिजय गैरेले समूहले गरेको कामको बारेमा जानकारी दिएका थिए । उनले राज्यका निकायहरूको गैर जिम्मेवारीपनका कारण नागरिकले सेवा नपाएको अवस्थालाई समाचारका मुद्दा बनाउन सञ्चारकर्मीसँग आग्रह गरे ।

पर्सा जिल्लामा स्वास्थ्य चौकीहरूको निर्माण भएको छ तर अहिलेसम्म हस्तान्तरण भएको छैन । चौकी हस्तान्तरण नहुँदा नागरिकले पाउने स्वास्थ्यको अधिकार पूर्ण रूपमा प्रत्याभूत हुन नसकेको प्रति ध्यान दिन सञ्चार क्षेत्रलाई उनले आग्रह गरे ।

कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालयका काठमाडौँका संयोजक कृष्ण गौतमले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । त्यस्तै इन्सेक केन्द्रीय कार्यालयकी सलिना भट्टराई, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, सचिव युवराज खडका, जिल्ला मानव अधिकार निगारनी समूहका संयोजक तवरेज अहमद राज चौधरी र पत्रकार सुरेश बिडारी लगायतले आफना भनाई राखेका थिए ।

केसी लामिछाने