जनप्रतिनिधि र निगरानी समूहका पदाधिकारीका लागि क्षमता अभिवृद्धि तालिम

  ०७५ असोज ४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरको आयोजनामा लहानमा दुई दिने क्षमता अभिवृद्धि तथा अभिमुखिकरण तालिम असोज ४ गते सुरू भएको छ ।

लक्ष्मीपुर पतारी गाउँपालिका-३ र ६ का निर्वाचित जनप्रतिनिधिहरू र मानव अधिकार निगरानी समूहका सदस्यहरूलाई क्षमता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

Photo20180921Siraha (1)

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य र जनप्रतिनिधिहरूलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि क्षमता अभिवृद्धि प्रदान गर्न तालिम सञ्चालन गरिएको इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताए ।

लोकतन्त्रलाई दिगो बनाउन र स्थानीय तहलाई मजबुत बनाउन निगरानी समूहले जनप्रतिनिनिधिहरूसँग समन्वय गरी आर्थिक र सामाजिक अधिकारलाई सुनिश्चित गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने तालिम उद्घाटनको क्रममा पासवानले बताए ।

Photo20180921Siraha (2)

कार्यक्रमको उद्घाटन गर्दै लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामवल्लभ साहले मानव अधिकारसँगै इन्सेकले कर्तव्य पनि सिकाएकाले नागरिकहरू आफ्नो अधिकार र कर्तव्यको बारेमा सचेत भएको बताए ।

स्थानीयतहमा पुरानै मान्छे भए पनि स्थानीय तह नयाँ भएकाले सबैले सिक्दै गर्दा विकासको काममा ढिलाइ भए पनि अब आफ्नै कानूनहरू बनाएर आर्थिक, सामाजिक विकासमा अगाडि बढ्ने बताए । यो कार्यक्रमले दुई ओटा वडामा राम्रो प्रभाव पारेकोले सबै वडामा कार्यक्रम सञ्चालन गर्न कार्यक्रमका सहभागीहरूले इन्सेकलाई आग्रह गरे ।

तालिममा इन्सेक अभियान र मानव अधिकारको अवधारणा, विकासको सैद्धान्तिक अवधारणा, शिक्षा, स्वास्थ्य र खाद्य अधिकार समस्या र अवस्था विश्लेषण र समाधानका लागि जनप्रतिनिधिको भूमिका, नेपालको संविधान र मौलिक हक, मानव अधिकार निगरानी समूहको काम, कर्तव्य र अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र स्थानीय नागरिकको पहुँच विषयमा सहजिकरण हुने छ ।

तालिमको सहजिकरण धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्मा, राष्ट्रिय मानव अधिकार आयोग जनकपुरका प्रमुख वीरबहादुर बुढा, इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, कार्यक्रम फोकल पर्सन जागेश्वर यादव र इन्सेक प्रतिनिधि दुर्गा परियारले गर्ने आयोजकले जनाएको छ ।

दुर्गा परियार