घर नभएकाहरूलाई घर, स्वबासीलाई जग्गा !

  ०७६ मङ्सिर १३ गते

नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले घर नभएकालाई घर र उपभोग गरिरहेर पनि जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई जग्गाधनी प्रमाणपत्र दिलाउन पहल भइरहेको बताउनुभएको छ । ‘खरको छाना भएकाहरूलाई टिन लगाइदिने बजेट व्यवस्था गरेका छौँ ।’–उपप्रमुख मल्लले भन्नुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कर्णाली प्रदेश कार्यालय सुर्खेतले दैलेखमा मङ्सिर १५ गते  आयोजना गरेको ‘शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार’ विषयक छलफल कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

जग्गाविहीन दलितहरूलाई एक पटकलाई जग्गा दिने केन्द्र सरकारको योजना रहेको र उपभोग गरिरहेर पनि जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई जग्गाधनी प्रमाणपत्र दिलाउन प्राविधिक र कानुनी सरसल्लाह भइरहेको उपमेयर मल्लले प्रष्ट पार्नुभयो ।

त्यसबखत नारायण नगरपालिका–७ का वडाध्यक्ष पूर्णबहादुर मल्लले भन्नुभयो–‘आफूहरूले चुनावको बेला धेरै चिज दिन्छौँ भनेका थियौँ । तर सो बाचा पुरा गर्न सकेका छैनौँ । तर, केही नभएको पनि होइन । बजेट अनुसार विकास कार्यक्रम भएकै पनि छन् ।’ उहाँले कार्यकालको बाँकी अवधिमा जनतालाई सन्तुष्ट गराउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नारायण नगरपालिका–१ का कार्यवाहक वडाध्यक्ष रमेश केसीले रातामाटेको खानेपानी समस्या समाधानको लागि खानेपानी उपभोक्ता समितिसँग भनेर निःशुल्क सार्वजनिक धारा जडान गर्ने तयारी भएको बताउनुभयो ।

छलफल कार्यक्रममा उठेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सवालहरुको समाधानको लागि नारायण नगरपालिकाले पूरा गर्ने दायित्व, समुदायको अग्रसरता र इन्सेकले गर्ने नागरिक अगुवाइको कार्य लगायतका विषय समेटेर तीन बुँदे प्रतिबद्धता जनाएका छन् ।

Dailekh1

Dailekh2

अमर सुनार