गैससहरूको भूमिका, पारदर्शी र जबाफदेही हुनुपर्नेमा जोड 

  ०७४ भदौ १२ गते 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा "नागरिक समाज र गैरसरकारी संस्थाहरूको भूमिका, पारदर्शी र जबाफदेही बनाउने" विषयमा गरिएको अन्तरक्रियामा सरोकारवालाहरूले गैससहरूको भूमिका, पारदर्शी र जबाफदेही हुनुपर्नेमा जोड दिएका छन् ।

भदौ १२ गते हेटौँडामा सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका पुर्व अध्यक्ष वुद्धशरण लामाले गैरसरकारी संस्था महासङ्घको भूमिका, पारदर्शिता र जबाफदेही विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

अबधारणा पत्रमा भनिएको छ-'गैरसरकारी संस्था अर्थात नागरिक समाज सरकारका सहयोगी हातहरू हुन् । यसलाई कमजोर र नियन्त्रण गर्न खोजियो भने सरकार पनि बलियो हुँदैन । गैरसरकारी संस्थालाई सरकारका सहयोगी निकायका रूपमा बुझन आवश्यक छ ।' गैरसरकारी संस्थाहरू जति जबाफदेही र पारदर्शी हुन सके त्यति नै जनताको मन जित्न सक्ने अबधारणापत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष कृष्ण धितालले सबै गैरसरकारी संस्थाहरूलाई एउटै डालोमा हालेर सरकारले गैरसरकारी संस्थाहरूको भूमिकालाई साँघुरो बनाउन नहुने बताए । 'समाजमा रहेका सबै निकाय जबाफदेही र जिम्मेवार हुनु पर्छ । त्यसमा पनि गैरसरकारी संस्थाहरू अझ पारदर्शी र जिम्मेवार हुनु पर्छ ।'-उनले भने ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले अधिकांश गैरसरकारी संस्थाहरूको भूमिका सकारात्मक रहेको बताउँदै गैरसरकारी संस्थाहरू अझ पारदर्शी र जिम्मेवार हुनपर्ने बताए ।

प्रताप विष्ट