गुणस्तरीय शिक्षा नगरपालिकाको पहिलो प्राथमिकताः नगर प्रमुख चन्द

  ०७५ चैत १७ गते

बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले गुणस्तरीय शिक्षा नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

बेदकोट नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने किसमको वातावरण निर्माण गर्नका लागि नगरपालिकाले विभिन्न योजना निर्माण गरिरहेको उनको भनाई छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा चैत १७ गते कञ्चनपुरको बेदकोट नगरपालिकामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रममा चन्दले सो कुरा बताएका हुन् ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र सुधारका लागि पहल गर्न सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सेवाग्राहीहरूले शिक्षा गुणस्तरमा सुधार गर्नुपर्ने, स्वास्थ्य संस्थामा नियमित औषधि वितरण गरिनुपर्ने, कृषि विकाससँग सम्बन्धित कार्यक्रमको प्रचारप्रसार गरिनुपर्नेलगायतका मागहरू गरेका थिए ।

कार्यक्रममा स्थानीय तहको नया संरचना अनुसार शाखा स्थापना भएपनि सेवा प्रवाह राम्रो नहुँदा सेवा पाउन नसकेको सहभागीहरूले गुनासो गरेका थिए ।

कार्यक्रममा उठेका सवालको जबाफ दिँदै बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले नयाँ संरचना अनुसार धेरै अधिकार स्थानीय स्तरमा आएपनि व्यवस्थापन भइनसकेका कारण समस्या भइरहेको बताए ।

उनले शिक्षा, स्वास्थ्य, कृषि, पशु क्षेत्रको विकासका लागि योजना बनाएर सबैले अनुभूति गर्ने गरी सेवा प्रदान गर्ने गरी योजना बनाएर लागु गर्ने बताए ।

सेवा प्रदायक र सेवाग्राहीबिच समय समयमा अन्तरक्रिया भए सेवाप्रदायक संस्थालाई सुधार गर्ने अवसर हुने र योजना बनाउन सजिलो हुने नगरपालिका प्रमुख चन्दले बताए ।

photo20190331kanchanpur
कोमलनिरन्जन भाट