गुणस्तरीय शिक्षाले सबै क्षेत्र सुधार हुन्छः नगर प्रमुख यादव

  ०७५ चैत १२ गते

कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले सबैभन्दा पहिला गुणस्तरीय शिक्षा प्रदान गरिए सबै क्षेत्रको सुधार हुने बताएका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर २२ भोडहा स्थित साना किसान कृषि सहकारी संस्थाको सभा हलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधाम र मानव अधिकार निगरानी समूह भोडहाको आयोजनामा चैत १२ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

photo20190326bara

शिक्षा, स्वास्थय र खाद्य अधिकारका सवालमा सेवा प्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख यादवले सबै जनाले हातेमालो गरी शिक्षा क्षेत्र सुधार गर्न आग्रह गरे । कलैया उपमहानगर क्षेत्रमा रहेका ७१ ओटा विद्यालयहरुको सुधार गर्न जरुरी भएको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिले गरेका प्रयास नगरपालिकामा पेश गर्न उनले अनुरोध गरे । विद्यालय परिवार र नगरपालिका मिलेर मात्र शिक्षा क्षेत्रमा सुधार गर्न सकिने उनको भनाई थियो ।

उनले विगत एक वर्षभन्दा बढी समयदेखि कलैया उपमहानगरपालिकाको शिक्षा शाखामा जनशतिm नरहेको बताए । डेढ वर्ष पछि मात्र एक जना शिक्षा संयोजकले सेवा प्रवाह गरिरहेको उनको भनाई छ । जनशक्ति अभावको कारण नगरक्षेत्रको शिक्षा नराम्रो तरिकाले प्रभावित भएको उनले बताए ।

मानव अधिकार निगरानी समूहका अध्यक्ष राजेन्द्रप्रसाद चौधरीले शिक्षामा लगानी बढाउन नगरपालिकासँग माग गरे । उनले विद्यालयको भौतिक पूर्वाधार, शिक्षकको व्यवस्था, विद्यार्थीलाई पोशाक र लोक सेवा तयारी कक्षा सञ्चालन गर्न माग गरे ।

चौधरीले अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न माग गरे । उनले स्वास्थ्य चौकीमा प्रसूति सेवा सञ्चालन गर्न आग्रह समेत गरे ।

इन्सेक प्रदेश २ जनकपुर कार्यालयका संयोजक राजु पासवानले इन्सेकले सेवा प्रदायक निकाय र सेवाग्राहीबिच निरन्तर रुपमा शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार जस्ता नागरिकका आधारभूत अधिकारका सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिँदै आएको बताए ।

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि स्थानीय निकाय, विभिन्न संघसंस्था तथा नागरिक समाज र राजनीतिक दलको समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए ।

कलैया उपमहानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष पुनदेवप्रसाद रौनियारले स्वास्थ्य चौकीमा प्रसूति गृह सञ्चालन गर्न आजैबाट सबै मिलेर लाग्न अनुरोध गरे ।

विद्यालय व्यवस्थापन समिति गठन गर्न २२ पटक बैठक बस्दा पनि अविभावकको उपस्थिति हुन नसकेको उल्लेख गर्दै उनले शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि बैठक बसेर गुणस्तरीय शिक्षाका लागि छलफल गर्नु पर्नेमा जोड दिए ।

वडा नम्बर २२ का वडा अध्यक्ष लालबाबुप्रसाद यादवले स्वास्थ्य चौकीबाट चार ओटा वडाका नागरिकले सेवा लिने गरेका बताए ।

एक वडाका हिसावले औषधि उपलब्ध हुने भएकाले समस्या भएको उनले बताए । प्रसूति सेवा सञ्चालन गर्न सबै सहमत रहेकोले छिट्टो सञ्चालनमा ल्याउन हामी सबै लाग्नु पर्नेमा उनले जोड दिए ।
भोलानाथ पौडेल