खाद्य अधिकार सम्बन्धी कार्यविधि छिट्टै बनाउछौं : उपप्रमुख मर्दनिया

  ०७६ पुस २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा कावासोती नगरपालिकामा खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया थारुले कावासोती नगरपालिकामा छिट्टै खाद्य अधिकार र खाद्य सुरक्षासँग सम्बन्धी कार्यविधी निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ लाई कार्यान्वयन गर्न नगरपालिकाले स्थानीय खाद्य सुरक्षा समिति निर्माण गरेर काम गर्नुपर्ने भए पनि विभिन्न कारणले नगरपालिकाले समिति निर्माण गर्न नसकेको भन्दै उपप्रमुख मर्दनियाले खाद्य अधिकार र खाद्य सुरक्षासँग सम्बन्धी कार्यविधी निर्माण गरेर छिट्टै काम अघि बढाउने बताउनुभएको हो ।

खाद्य अधिकारलाई मौलिक हकमा नै सुनिश्चित गरिएकाले नगरभित्रका कोहिपनि नागरिक भोकै बस्न नपरोस् र गुणस्तरीय खाद्य वस्तुको उपभोग तथा यहाँको कृषिजन्य वस्तुहरुको उत्पादनमा बृद्धि गरेर खाद्य सुरक्षा कायम गर्न उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै उपप्रमुख मर्दनियाले उत्पादनलाई बृद्धि गर्नको लागी कावासोतीमा उत्पादन हुने कृषिजन्य वस्तु, माहुरीको कार्यविधी र माछाको कार्यविधी बनाएको जानकारी दिदै यहाँ उत्पादन हुने वस्तुहरुको प्राथमिकीकरण गरि पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना नगरपालिकाले लिएको बताउनुभएको थियो ।

स्थानीय सरकारले हरेक नागरिकको खाद्य अधिकारको संरक्षण गर्नुपर्ने भएकाले ‘कोहि पनि भोकै बस्न नपरोस ’ भन्ने नीतिगत रुपमा नै काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले नगरपालिकाले खाद्य वस्तुहरुको गुणस्तरीयता कायम राखेर उपभोक्तालाई सचेत बनाउदै व्यवसायीहरुलाई पनि सजग बनाउन बजार अनुगमन समय समयमा भइरहेको भन्दै आगामी दिनमा सरोकारवालाहरुसँग समन्वय गरि अनुगमनलाई निरन्तरता दिने बताउनुभयो ।

वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले वडा स्तरबाट समेत आगामी दिनमा खाद्य सुरक्षाका लागी योजना बनाएर बजेट विनियोजन गर्ने बताउनुभयो ।

अहिलेको समय विकास गर्ने समय भएकाले कृषि क्षेत्रको विकास गर्न सके उत्पादनमा बृद्धि हुने र उत्पादन बृद्धिले नागरिकको खाद्य अधिकार प्रत्याभुत गराउन सहज हुने पौडेलले भन्नुभयो ।

कृषि बजार थोक व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्याल, उपभोक्ता हित संरक्षण मञ्च कावासोतीका अध्यक्ष डोरमान गिरी, नवलपुर उद्योग वाणिज्य संघका सदस्य राजेन्द्र प्रसाद पाण्डे लगायतले कावासोती नगरपालिकामा कृषि र पशु प्राविधिकको अभाव हुँदा कृषकहरु मारमा परेको गुनासो व्यक्त गर्नुभएको थियो ।

प्राविधिक अभावले कृषकहरुलाई आवश्यक ज्ञान तथा सीपको जानकारी नहुँदा विषादीको प्रयोग कसरी गर्ने ? भन्ने जानकारी किसानले नपाउँदा एकातिर स्वास्थ्यमा असर पर्ने अर्कोतिर उत्पादनमा असर पर्ने र अन्य विभिन्न समस्याबाट किसान गुज्रिरहनु परेको गुनासो व्यक्त गरेका थिए ।

कार्यक्रममा कावासोती नगरपालिका कृषि तथा पशु शाखा प्रमुख डा. टेकराज पौडेलले कावासोतीमा कृषि र पशुको अवस्था कस्तो छ त ? भन्ने बारेमा प्रस्तुती गर्नुभएको थियो ।

यसअघि इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले खाद्य अधिकारलाई नेपालको संविधानले मौलिक अधिकारको रुपमा व्यवस्था गरेको भन्दै खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ लाई कार्यान्वयन गर्न स्थानीय सरकार क्रियाशिल हुनुपर्ने बताउनुभयो ।

उहाँले ऐनले स्थानीय खाद्य समन्वय समिति सम्बन्धी व्यवस्था गरेको भन्दै तत्काल स्थानीय तहहरुमा समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो ।

स्थानीय तहमा खाद्य अधिकार सम्बन्धी ऐनले तोकिए बमोजिमको ढाँचामा अभिलेखिकरण, लक्षित घर परिवारको पहिचान, खाद्य सहायता परिचयपत्र वितरण, निःशुल्क वा सहुलियत मुल्यमा खाद्य सहायता उपलब्ध गराउने काम स्थानीय सरकारको भएको भन्दै त्यसको कार्यान्वयनमा गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो ।

photo20200110Nawalpur

तिर्थराज डुम्रे