खाद्य अधिकारका सवालमा सरोकारवालासँग अन्तरक्रिया

  सुर्खेत । ०७६ माघ २७ गते

 

वीरेन्द्रनगर नपाले बजार व्यवस्थापन तथा अनुगमन ऐन पारित गरेपनि प्रभावकारी रुपमा बजार व्यवस्थापन र अनुगमन नगरेको एक कार्यक्रममा सहभागीले गुनासो गरेका छन् ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले माघ २६ गते वीरेन्द्रनगरमा आयोजना गरेको खाद्य अधिकार विषयक सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन ।

सहभागीहरूले नियमित बजार अनुगमन नहुँदा उपभोक्ताहरूले म्याद नाघेका खाद्य वस्तु र मिसावट गरिएका अखाद्य बस्तु तथा अव्यवस्थित बजारका कारण वीरेन्द्रनगरमा रहेका होटल तथा रेष्टुरेण्टमा धुँवा धुलो मिसिएको खाना नास्ता उपभोग गर्न बाध्य हुनु परेको उल्लेख गरेका थिए ।

कार्यक्रममा नागरिक सरोकार केन्द्रका अध्यक्ष पिताम्बर ढकालले उपभोक्ताको हितका लागि आवश्यक कानुन निमार्ण र कार्यान्वयन गर्ने दायित्व राज्यको भएको उल्लेख गरे । उनले उपभोक्ताहरूको हितका लागि नागरिक सङ्घसंस्थाहरूले पनि सचेतीकरण अभियान सञ्चालन गर्नुपर्नेमा प्रमुख ढकालले जोड दिए ।

कृषि विज्ञ छविलाल पौडेलले सबैभन्दा बढी कुपोषित भएका बालबालिका कर्णाली प्रदेशमा रहेको बताउँदै विषादीयुक्त खाद्य सेवनलाई निराकरण गर्नुपर्नेमा जोड दिए । हेल्भटासका प्रमोद भारीले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको नीतिलाई सहयोग गर्ने बताए ।

वीरेन्द्रनगर नपा ११ का वडाअध्यक्ष नन्दलाल शर्माले नपाले पारित गरेको ऐनलाई अक्षरस कार्यान्वयन गर्ने बताए ।

मानव अधिकार समूहका अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, नागरिक संस्थाका प्रतिनिधि, कृषक, अधिकारकर्मी र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य माथि कार्यक्रम संयोजक दिलबहादुर चौधरीले प्रकाश पारेका थिए ।

20200209_124834 20200209_124912

 

दुर्गा थापा