कोरोना विरुद्ध नागरिक समाज र पत्रकारहरूद्वारा सचेतनाका कार्यक्रम गरिने

  ०७६ चैत १ गते

सिन्धुलीका नागरिक समाज र सञ्चारजगतले स्वास्थ्य संस्था, सरकारी निकाय, स्थानीय तहहरू तथा नीजि क्षेत्रसँग साझेदारीमा कोरोना भाईरसका बारेमा सचेतना फैलाउने भएका छन ।

युएसएआईडि, एफएचआईको सहयोग तथा इन्सेकको आयोजनामा भएको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाज र पत्रकारले सचेतनाका कार्यक्रमलाई प्राथमिकता दिने बताएका हुन् ।

सिन्धुलीमाढीमा २०७६ फागुन ३० गते आयोजित कार्यक्रममा नागरिक समाजले आफ्ना नियमित कार्यक्रमहरूमा एक सेसन कोरोना भाईरसको बारेमा सचेतना कार्यक्रम गर्ने भएका हुन् । यस्तै प्लान इन्टरनेशनल नेपाल, रिलिफ नेपाल, लगाएतका संस्थाहरूले कोरोना भाइरसको सचेतना दिने पर्चा पम्पलेट प्रकाशन गरि सबै स्थानीय तहमा पु¥याउने भएका छन् ।

नागरिक समाजले ठूलो मानिसको भेला हुने खालका हाट बजारहरू बन्द गर्नुपर्ने अवस्था आएकाले त्यसतर्फ उद्योग वाणिज्य सङ्घ, स्थानीय तहलाई ध्यानाकर्षण गराउने, सिन्धुली अस्पतालमा स्थापना भएको आइसोलेसन वार्डलाई मापदण्ड अनुसार व्यवस्थित गर्ने, क्वारेन्टाईनको व्यवस्थाका लागि तयारी गर्नुपर्ने लगायतका विषयमा सहजीकरण गर्नुपर्ने लगाएतका विषयमा समेत छलफल भएको छ ।

यस्तै कोरोना भाइरसको हल्लामा भएका कृतिम अभाव कम गर्न अनुगमन गर्न पनि सरकारी निकायको ध्यानाकर्षण गराउने नागरिक समाजले जनाएका छन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले कोरोना भाईस, यसको सङ्क्रमण, लक्षणहरू, जोगिने उपायहरू, हालसम्म नेपालको तयारी, नागरिक समाज र पत्रकारहरूको भूमिकाका विषयमा सहजीकरण गर्नु भएको थियो । उहाँले जिल्लामा औषधिको अभाव नभएको समेत जनाएका छन ।

यस्तै उहाँले नागरिक समाज र पत्रकारहरूको सकारात्मक सहयोगको अपेक्षा रहेको समेत बताउनु भयो  । उहाँले कोरोनाबाट बच्ने उपाय र सावधानीलाई सकारात्मक रुपमा सन्देश दिन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

photo20200314Sindhuliphoto20200314Sindhuli1

कार्यक्रममा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले औषधिको अभाव भएको हल्लाले सुगर प्रेसरका औषधि चाहिने भन्दा बढी खपत हुने गरेकोे बताउनु भयो । उहाँले अनावश्यक सन्त्रास र हल्लालाई कम गर्न नागरिक समाज र सञ्चारको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले सिन्धुली अस्पतालको आईसोलेशन वार्डलाई व्यवस्थित गर्न सङ्घ संस्थालाई सहयोग गरिदिन आग्रह गर्नुभयो । यस्तै उनले उक्त वार्डमा काम गर्ने कर्मचारीलाई लगाउने सुरक्षा पोशाक उपलब्ध गराई सहयोग गरिदिन सङ्घसंस्थालाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्लेले सञ्चार क्षेत्रले सचेतनाका कार्यक्रम अगाडी बढाउने र प्रचारात्मक सहकार्य आवश्यक रहेको बताउनु भयो ।

बिमला पाण्डे