कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारसँग सहकार्य गर्न नागरिक समाज तयार

  ०७७ असार ८ गते

कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि सरकारसँग सहकार्य गर्न नागरिक समाज तयार रहेको बताइएको छ । धादिङबेसीमा असार ७ गते गैरसरकारी संस्था महासङ्घ र इन्सेकद्वारा आयोजित नागरिक समाज र सञ्चार जगतबीचको सहकार्य विषयक भर्चुअल बैठकमा सहभागी नागरिक समाजका अगुवाहरूले विश्वव्यापी रूपमा फैलिरहेको महामारी कोरोना भाइरस विरुद्ध एक जुट भएर लाग्नु पर्ने बताएका हुन् ।

स्थानीय तहहरू सबै स्रोत र साधनले पूर्ण नभएको, व्यवस्थापनलगायतका पक्षमा कमजोर भएको, महामारीपछि जिल्लामा समेत सङ्क्रमण फैलिँदै गएको अवस्थामा नागरिक समाजले सरकारसँग मिलेर काम गर्न तयार रहेको बताइएको हो । कार्यक्रममा शान्ति नेपालका डा. कृष्णमान श्रेष्ठले स्थानीय तहहरूमा बनाइएको क्वारेण्टाइनको अभाव हुँदै गएको, मापदण्ड अनुसार नभएको र कोरोना भाइरस सङ्क्रमितहरू राख्ने ठाउँहरू समेत नहुँदा क्वारेण्टाइनलाई नै आइसोलेशन बनाउन थालिएको अवस्थामा नागरिक समाजको सहयोगले महामारी विरुद्व जुध्न सहज हुने धारणा राख्नु भएको थियो ।

photo20200622Dadhingगैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य गोकर्ण रुपाखेतीले नागरिक समाज र स्थानीय तहसँग साझेदारी गरेर जान तयार रहेको बताउँदै स्थानीय तहलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरिएको बताउनु भयो । गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेशका अध्यक्ष दामोदर अर्यालले कोरोना भाइरस रोकथामका लागि स्थानीय तहहरूले गरेका काम र त्यसलाई सुधार गर्न नागरिक समाजले तयार पारेको ध्यानाकर्षण पत्रको बारेमा जानकारी दिनु भएको थियो ।

ध्यानाकर्षण पत्रमा नागरिक समाजसँग सहकार्यको वातावरण तयार गर्न आग्रह गर्ने, हाल बनाइएका क्वारेण्टाइनहरूलाई सुधार गर्दै महिला र अपाङ्गमैत्री बनाउनु पर्ने विषयहरू समेटिएको छ । महिला अधिकारका लागि कार्यरत राधिका सापकोटाले लकडाउनको कारण अपाङ्गता भएकाहरू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू बढी समस्यामा परेकाले त्यसको लागि नागरिक समाजले स्थानीय तहहरूलाई  सूचना प्रदान गर्ने लगायतका सहयोग गर्नसक्ने बताउनु भयो ।

यसैगरी नागरिक सङ्घसंस्था एवम् निजी क्षेत्रको संलग्नता बढाउन सरकारको तर्फबाट आवश्यक समन्वय गर्ने, बन्दाबन्दीका कारण अधारभुत अधिकारबाट बञ्चित नागरिकहरूका लागि साझेदारीमा काम गर्नु पर्ने, बजार अनुगमन, कृषि तथा उत्पादनमूखी योजनाहरू ल्याउनेलगायतका विषयमा स्थानीय तहहरुको ध्यानाकर्षण गराइने गैरसरकारी सस्था महासङ्घका सचिव शालिकराम दुवाडीले बताउनुभयो ।

कार्यक्रममा अधिकारकर्मी राजु रेग्मी, नेपाल रेडक्रस सोसाइटीका नारायण तिमल्सिना, महिला मानवअधिकार रक्षक जिल्ला सञ्जालकी अध्यक्ष गायत्री खतिवडालगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू पत्रकारहरूको सहभागिता रहेको थियो । नागरिक समाजले तयार पारेको ध्यानाकर्षणपत्र जिल्लाका सबै स्थानीय तहहरूलाई बुझाउने बैठकले निर्णय गरेको छ ।

सीताराम अधिकारी