कोभिड–१९ को प्रभाव र मानव अधिकार अवस्था विषय अधिकारकर्मीहरूबीच छलफल सम्पन्न

  ०७७ साउन १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ को आयोजनामा साउन १४ गते विराटनगरमा कोभिड–१९ को प्रभाव र मानव अधिकार अवस्था विषयक अधिकारकमीहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।

“मानव अधिकार संरक्षण र सम्वद्र्वनका लागि मानव अधिकार रक्षकहरूको परिचालन तथा अभिवृद्धि”(डिसीए) परियोजना अन्र्तगत अधिकारकर्मीहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश १ मा लकडाउनको अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू बढेको अधिकारकर्मीहरूले बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ विराटनगरका निर्देशक मोहनदेव जोशीले लकडाउन हुनु अघिभन्दा लकडाउनको चार महिनामा मानवअधिकार उल्लङ्घनका घटनाहरू बढेको बताउनुभयो । उहाँले हत्या, आत्महत्या, महिला हिंसाका घटनाहरूमा वृद्धि भएकाले यसतर्फ अधिकारकर्मीहरूले साझा आवाज उठाउन आवश्यक भएको बताउनुभयो । कोरोना भाइरसको कारण देखाउँदै विराटनगरका अस्पतालले उपचार नगर्दा बिरामीको मृत्यु भएको, स्वास्थ्य उपचार नपाएको विषयमा सरकारलाई ध्यानाकर्षण पनि गराएको निर्देशक जोशीले बताउनुभयो ।

कार्यक्रममा इन्सेक प्रदेश १ संयोजक सोमराज थापाले नागरिकको स्वास्थ्य अधिकार रक्षाका लागि सबै अधिकारकर्मीले प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

महिला मानव अधिकार रक्षक सञ्जाल प्रदेश १ संयोजक तथा मनोसामाजिक विमर्श मञ्जिता उपाध्यायले लकडाउनमा महिला हिंसाका घटनाहरू बढेको बताउनुभयो । उहाँले क्वारेन्टाइनमा रहेकाहरूलाई मनोसामाजिक विमर्शको काम प्रदेश सरकारले नगरेको गुनासो गर्नुभयो ।

बाल मजदूर सरोकार केन्द्र सिविन विराटनगरका प्रमुख बासु अधिकारीले लकडाउनमा बालिका बलात्कारका घटनाहरू बढेको बताउनुभयो । उहाँले बालिकाहरू परिवारबाटै पीडित भएका घटनाहरू बढ्दै गएको बताउनुभयो ।

एवीसी विराटनगरकी अध्यक्ष विष्णु शर्माले महिला हिंसाका घटनाहरू र आत्महत्याका घटनाहरुमा वृद्धि भएको बताउनुभयो ।

कार्यक्रममा इन्सेक प्रदेश १ संयोजक सोमराज थापा, नेपाल पत्रकार महासङ्घ प्रदेश १ अध्यक्ष विक्रम लुईटेल, वपरडेक अध्यक्ष सञ्जु साह लगायतले बोल्नु भएको थियो । कार्यक्रममा ३३ जना बढी अधिकारकर्मीहरूको उपस्थिती रहेको थियो ।

Photo 20200729 Morang (1)

Photo 20200729 Morang (2)

Photo 20200729 Morang (3)

नेत्रप्रसाद अधिकारी