कानुनी सचेतना कार्यक्रम सम्पन्न

  ०७७ कात्तिक २७ गते

जिल्ला सरकारी वकिल कार्यालय सिरहा, नवराजपुर गाउँपालिका, इलाका प्रहरी कार्यालय महेशपुर पतारको आयोजना र इन्सेक, ओरेक, मुक्ति नेपाल र समग्र जनउत्थान केन्द्रको सहकार्यमा कात्तिक २६ गते महिला हिंसा तथा कथित बोक्सीको आरोपसम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

बढ्दो महिला हिंसा र कथित बोक्सीको आरोपमा महिला माथि भइरहेका दुव्र्यवहार कम गर्न कानुनी ज्ञान प्रदान गर्ने उद्धेश्यले इन्सेकलगायतका संस्थाहरूले नवराजपुर गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा नवराजपुर गाउँपालिकाकी उपाध्यक्ष शोभा यादवले आफ्नै गाउँपालिकामा कथित बोक्सीको आरोपमा भएको अमानवीय घटनाले गाउँपालिका बदनाम भएको बताउनु भयो ।

अब उपरान्त यस्ता अमानवीय घटना दोहोरिन नदिने प्रतिबद्धता जनाउँदै उहाँले सङ्घसंस्थाहरूको सहकार्यमा सबै वडामा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।

photo20201112siraha

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका एकराज अधिकारीले महिला माथि हुने हिंसाका घटनामा हुने सजाय तथा कथित बोक्सीको आरोपमा नेपालमा भएका कानुनी प्रक्रियाबारे जानकारी गराउनु भएको थियो ।

अपराधीलाई समाजले संरक्षण गर्दा दिनदिनै यस्ता घटनाहरू बढ्ने भएकाले अपराधीलाई संरक्षण गर्न नहुनेमा उहाँले जोड दिनु भयो ।

नवराजपुर गाउँपालिका–५ मा ०७७ भदौ २७ गते कथित बोक्सीको आरोपमा ४१ वर्षीया मुर्तिदेवी यादवलाई स्थानीयले कुटपिट गर्नुका साथै अभक्ष कोच्याएकाले सचेतनाको लागि सोही ठाउँमा कार्यक्रम सञ्चालन गरेको ओरेककी देवकुमारी महराले बताउनु भयो ।

दुर्गा परियार