कर्मचारी अभाव हुँदा कार्य सम्पादनमा समस्या ։ अध्यक्ष जिसी

  ०७६ पुस २२ गते

कर्मचारी अभावमा सेवाग्राहीको कार्य सम्पादनमा समस्या भएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  गण्डकी प्रदेश कार्यालयको आयोजनामा भएको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार  सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कर्मचारी अभावमा गाउँपालिकामा आउने सेवाग्राहीहरुको कार्य सम्पादनमा समस्या भएको  बताउनु भएको हो ।

विषयगत शाखाहरु कार्यालय सहयोगीको भरमा चल्नुपर्ने अवस्था सृजना भएको भन्दै उहाँले सेवाप्रवाहमा प्रत्यक्ष असर परेको बताउनुभयो ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको दुम्किवासमा पुस २१ गते भएको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका सवालमा मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष जिसीले सो कुरा बताउनुभएको हो ।

गाउँपालिकाको शिक्षा शाखा र महिला तथा बालबालिका शाखा सहयागीको भरमा चल्नुपर्ने अवस्था सृजना हुँदा अधिकार प्रत्याभुत गर्नलाई पनि समस्या हुने गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले संघीय सरकारसँग कर्मचारी माग गरे पनि अझै पनि कर्मचारी परिपुर्ती नहुँदा समयमा सेवा प्रवाह गर्न कठिनाई भएको बताउनुभयो । आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारको प्रत्यायोजनको लागि गाउँपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष मिना रानाले नागरिकले स्वतन्त्र रुपमा बोल्ने अवसर प्राप्त गरे पनि  निम्न वर्गका कतिपय परिवारहरु गास, बास र कपासको अभावमा दयनिय जीवन बिताउनु परेको यथार्थ अझै पनि रहेकाले यस्ता समस्या समाधान गर्न केन्द्रबाट नै विशेष पहल थालिनुपर्नेमा जोड दिनुभयो ।

मौलिक हकमा नै शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई सुनिश्चित गरेको भए पनि स्थानीय सरकारले ती अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्न चुनौती हुने गरेको रानाको भनाई छ । स्थानीय तहमा बसेर काम गर्दा अनेकौ अप्ठेराहरु आउने हुदाँ पूर्ण रुपमा कार्यान्वयन गर्न गाह्रो हुने गरेको उहाँले बताउनुभयो ।

वडा नम्बर दुईका वडा अध्यक्ष विष्णु प्रसाद ढकालले देश संघीयतामा गएर स्थानीय सरकार बनेपछि अधिकांश बजेट पूर्वाधार विकासमा नै खर्चिनुपर्ने अवस्था रहेकाले मानव अधिकारसँग सम्बन्धित विषयमा ध्यान दिन नसकेको स्पष्ट पार्दै आउँदा दिनमा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार प्रत्याभुत गर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो।

युवाहरुलाई स्वरोजगारका कार्यक्रम, सुकुम्वासीलाई स्थाई बासस्थान, स्वास्थ्य संस्थाहरुमा गुणस्तरीयता, कृषकहरुका लागी सहुलियत र अनुदान जस्ता कार्यक्रमलाई  वडाबाट प्राथमिकतामा पार्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागी भएका सरोकारवालाहरुले कृषि तथा पशु प्राविधिक अभाव हुँदा किसानले मल बीउ बिजनका बारेमा राम्ररी बुझ्न नसक्दा उत्पादनमा कमी हुनु, अत्याधिक विषादी प्रयोग, नियमित बजार अनुगमन नहुँदा अखाद्य वस्तु र म्याद नाघेका वस्तु उपभोक्ताले गरिद गर्नुपर्ने, विनयी खोलामा रातदिन क्रसर संचालन हुँदा ध्वनि प्रदुषण, धुलो धुँवाले सर्वसाधारणको स्वाथ्यमा समस्या परेको, गाउँपालिकाका कतिपय वडाहरुमा शुद्ध खानेपानी उपलब्ध नभएको, शिक्षाको गुणस्तरीयता नहुनु, उच्च शिक्षा हासिल गर्ने शैक्षिक संस्थाको अभाव लगायतका समस्याहरु रहको गुनासो राखेका थिए ।

यस्तै भूमिको समस्या पनि उत्तिकै रहेको सरोकारवालाहरुको भनाई थियो । यहाँ ऐलानी र सुकुम्बासीको सङ्ख्या समेत धेरै रहेकाले त्यस्ता नागरिकको एकिन तथ्याङ्क निकालेर समस्याको समाधान गर्न तर्फ स्थानीय सरकारले काम गर्न आवश्यक रहेको बताएका थिए ।

सरोकारवालाहरुको गुनासोलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुले सम्बोधन गरेका थिए । नागरिक स्तरबाट आएका समस्याको सामाधान गर्न आउँदा दिनमा आफूहरु तत्पर रहने प्रतिबद्धता समेत जनाएका  छन् ।

आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका विषयमा अधिवक्ता भूपेन्द्र खनालले सहजीकरण गर्नुभएको थियो ।

photo20200107nawalpur (1)

photo20200107nawalpur (2)

photo20200107nawalpur (3)

 

तिर्थराज डुम्रे