कर्मचारी अभावले सेवा प्रवाहमा समस्या

  ०७६ असोज १५ गते

कर्मचारी अभावले सेवा प्रवाहमा समस्या परेको एक कार्यक्रमका सहभागी वक्ताहरूले औँल्याएका छन् । इन्सेक प्रदेश ५ कार्यालय, नेपालगन्ज, मानव अधिकार निगरानी समूह, माउण्टेन टेलिभिजन, रेडियो सद्भाव र राप्ती सोनारी गाउँपालिकाको सयुक्त आयोजनामा असोज १५ गते शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक टेलिभिजन सम्वाद कार्यक्रममा उपप्रमुख धनीकुमारी खत्रीले उक्त कुरा औँल्याएकी हुन् ।

गुणस्तरीय शिक्षा प्रदान गर्न आफू लागि परेको बताउँदै राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले मावि तहमा शुल्क लिने गरेको जनगुनासो आएपछि आफूले यस विषयमा अनुगमन गर्ने बताए ।

उनले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा आफूले लगानी गरेको बताए । अध्यक्ष थारुले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले सबै वडामा एम्बुलेन्स व्यवस्था प्रक्रिया मिलाउन लागेकोे बताए । दसैँ तिहारपछि सबै वडामा एम्बुलेन्स ल्याउन लागेको उनको भनाई छ ।

उपाध्यक्ष खत्रीले कानुनसम्बन्धी पुर्णज्ञान नभएको र कार्मचारी अभावले गर्दा न्याय सम्पादन गर्न कठिन रहेको बताइन् ।

गाउँपालिकाका प्रशासकीय अधिकृत विरेन्द्रबहादुर माझीले गाउँपालिकामा पर्याप्त मात्रामा कर्मचारीहरू नभएको कारण सन्तोषजनक सफलता हात पार्न नसकेको बताए ।

उनले कर्मचारी र जनताबीचको अन्तरक्रियाबाट कार्यक्रममा आएका जनगुनासोलाई मध्यनजर गर्दै काम आगाडि बढाएको बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीले लागु औषध, मानव बेचबिखन तथा ओसार पसार, जघन्य फौजदारी अपराध, घरेलु हिंसाजस्ता घटनामा आफू कडा रूपमा प्रस्तुत भएको बताए ।

उनले दसैँ तिहारमा नागरिकहरूको जिउ धनको सुरक्षा गर्नको लागि योजना बनाएको बताए । डिएसपी शाहीले नागरिकको प्रहरीप्रतिको विश्वासलाई बलियो बनाएर काम गर्ने प्रतिबद्धता जनाए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर चुडालीले राज्यले तोकेजतिको सबै सेवा नागरिकलाई प्रदान गरेको बताए ।

उनले पहिले भन्दा अहिले नागरिकहरूले गाउँपालिकाको स्वास्थ्य शाखाबाट निःशुल्क सेवा लिइरहेको बताए ।

गाउँपालिकामा सुत्केरी महिलाहरूले नियमित चेक जाँच गराउँदै आएको बताउँदै उनले भने–‘बालबालिकाहरूले नियमित खोप लिइरहेका छन् ।’

कृषि शाखा प्रमुख चन्द्राकुमारी शाहीले कृषकहरूको समस्यामा आफू सधैँ लागिपरेको बताउदै कृषिमा भएका समस्यालाई कृषकहरूले खुलस्त बताउन आग्रह गरिन् ।

शिक्षा शाखा प्रमुख ओमबहादुर थापाले शिक्षाको विषयमा नागरिकको घरदैलोमा गएर अनुगमन गरेको बताए । उनले विद्यालयमा भएका समस्यालाई समाधान गरिरहेको र शिक्षा विकासमा जोड दिएको बताए ।

photo20191002banke (1)

photo20191002banke (2)

photo20191002banke (3)

स्मृति देवकोटा