कर्णाली प्रदेशको वार्षिक सम्पादन भेला सुरू

  ०७५ पुस ९ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीहरूका घटनाकहरूको वार्षिक सम्पादन भेला पुस ९ गतेदेखि वीरेन्द्रनगरमा सुरू गरिएको छ ।

कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालय प्रलेख तथा प्रसार कार्यक्रमका गोविन्द त्रिपाठीले नेपाल मानव अधिकार वर्ष पुस्तक सम्पादनका विषयहरू माथि प्रकाश पार्दै वर्ष पुस्तकलाई वस्तुनिष्ठ बनाउन जिल्ला प्रतिनिधिहरूको भूमिका महत्वपुर्ण रहेको उल्लेख गरे ।

Photo20181224Surkhet

नेपाल मानव अधिकार वर्ष पुस्तकलाई सबैको पुस्तक बनाउन सत्यतथ्य घटना सङ्कलनका साथै सरोकारवाला निकायहरूसँग पुनःपुष्टि गर्नुपर्नेमा त्रिपाठीले जोड दिए ।

इन्सेक केन्द्रीय कार्यालयका रमेशप्रसाद तिमल्सिनाले इन्सेक अनलाइन समाचारका सम्बन्धमा देखिएका समस्याहरूको बारेमा जानकारी गराउँदै अनलाइन समाचार निर्देशिका अनुरुप समाचार सम्प्रेषण गर्न आग्रह गरे । इन्सेक अनलाइनलाई भरपर्दो समाचारको माध्यम बनाउन सत्यतथ्य घटना सङ्कलन गरी नियमित फलोअपको आवश्यकता रहेको तिमल्सिनाले बताए ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले नेपाल मानव अधिकार वर्ष पुस्तकको पूर्व समीक्षामा उठाइएका सुझावहरूलाई वर्ष पुस्तकमा समेटनुपर्नेमा जोड दिए ।

कर्णाली प्रदेशका १० ओटै जिल्लाका प्रतिनिधि सहभागी सम्पादन भेला पुस १० गतेसम्म सञ्चालन गरिने संयोजक सुवेदीले बताए ।

पछिल्लो समयमा कर्णाली प्रदेशका जिल्ला प्रतिनिधिहरू अझै सक्रिय बनेमा मात्र मानव अधिकार संरक्षण सम्बर्द्धनमा टेवा पुग्ने बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका जिल्ला प्रतिनिधिहरूले जिल्लाको मानव अधिकारको अवस्था, अनलाइन समाचार प्रकाशन तथा वर्ष पुस्तकका लागि घटना सङ्कलन गर्दा देखिएका समस्याहरूको बारेमा अवगत गराएका थिए ।

दुर्गा थापा