इन्सेक र प्रहरीको सहकार्यमा स्वयंसेवक प्रशिक्षण

  ०७६ चैत १० गते

विश्वभर महामारीकै रुपमा फैलिएको नोबल कोरोना भाइरसको प्रकोप रोकथाम र उद्धारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) तथा जिल्ला प्रहरी कार्यालय म्याग्दीको सहकार्यमा स्वयंसेवकलाई  तालिम दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र म्याग्दीबाट प्रकाशन हुने रुप्से दैनिक को सहकार्यमा आयोजित स्वयंसेवक प्रशिक्षण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, लायन्स क्लबका सदस्य, लियो क्लबका सदस्य र युवा क्लबका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा प्रत्येक कुर्सीहरुलाई तीन फिटको दुरीमा राखिएको थियो ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको स्वयंसेवक प्रशिक्षण कार्यक्रममा बेनी अस्पताल म्याग्दीका डाक्टर रिसभ खनालले सहजीकरण गर्नुभएको थियो ।

डाक्टर खनालले कोरोना के हो, यसबाट कसरी जोगिने र संक्रमण देखिएको खण्डमा कुन तरिकाले उद्धारमा खट्नुका साथै सुरक्षा कवचको प्रयोग गर्ने तरिकाको बारेमा सहजीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा स्वयंसेवकका लागि खट्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सर्वसाधारण युवाहरु गरी ८० जना सहभागि रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो ‘प्रहरी मात्र खट्नु पर्छ भन्ने आम नागरिकका मान्यता भन्दा पनि सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्छ भन्ने तर्फ सचेतना जगाउने उद्देश्य  सहित स्वयंसेवकलाई प्रशिक्षण दिइएको हो ।’

म्याग्दीमा कोरोनाको संक्रमण भएका वा कोरोनाको लक्षण रहेकालाई राख्न सदरमुकाम बेनीमा आइसुलेसन वार्ड स्थापना गरिएको छ भने अन्नपुर्ण गाउँपालिकाले पनि आइसुलेसनको तयारी गरेको छ ।

बेनी बजारमा रहेको माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयको ४० कोठे भवन प्रयोग गरिदै छ भने अन्नपुर्ण गाउँपालिकाले अन्नपुर्ण–२ भूरुङमा रहेको सर्वोदय माविको विद्यालय भवनलाई प्रयोग गर्ने तयारी थालेको छ ।

म्याग्दीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाल, नेपाली सेनाको श्रीबक्स गुल्मका गुल्मपति सेनानी सुरेश देवकोटा, सशस्त्र प्रहरीबलका डिएसपी प्रकाशकुमार माझीलगायतको उपस्थिति रहेको थियो ।

photo20200324Myagdi (1)

photo20200324Myagdi (2)

photo20200324Myagdi (3)

photo20200324Myagdi (4)

अमृत बास्कुने