इन्सेक परियोजनाको केन्द्रीय कार्यालयबाट अनुगमन

  ०७६ पुस २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना सञ्चालित धनपालथान गाउँपालिकामा इन्सेक अध्यक्षासहित केन्द्रीय कार्यालयको टोलीले पुस २५ गते अनुगमन गरेको छ ।

इन्सेक अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठ, कार्यकारी निर्देशक विजयराज गौतम, प्रदेश १ संयोजक सोमराज थापा, केन्द्रीय कार्यालयकी कार्यक्रम अधिकृत सुवेच्छा खड्का, प्रदेश कार्यालयकी कार्यक्रम अधिकृत बाग्मती कट्टेललगायतको टोलीले कार्यक्रमको प्रभाव तथा  महत्वका बारेमा अनुगमन गरेको हो ।

धनपालथान गाउँपालिकामा परियोजना सञ्चालनपछि स्थानीय स्तरमा सकारात्मक परिवर्तन हुँदै आएको मानव अधिकार निगरानी समूहका अध्यक्ष कृष्ण राजवंशीले बताउनुभयो ।

कार्यक्रमले स्थानीय स्तरमा पारेको प्रभावबारेको छलफलमा उहाँले मानव अधिकार निगरानी समूहको खबरदारीका कारण स्वास्थ्य संस्था नियमित सञ्चालन हुन थालेको बताउनुभयो ।

'पशु सेवा कार्यालय भएपनि पशुलाई खोप नदिने गरिन्थ्यो ।'-उहाँले भन्नुभयो-‘अहिले नियमित रूपमा पशुलाई पनि खोप दिन थालिएको छ ।’

स्थानीय स्तरमा हुने गरेका विवादहरू स्थानीय स्तरमै मिलाउन थालिएको मानव अधिकार निगरानी समूहका सचिव दीपेन्द्र पासवानले बताउनुभयो ।

उहाँले भन्नुभयो-‘सानासाना कुरालाई लिएर प्रहरी कार्यालयमा जाने गरिन्थ्यो । परियोजना सञ्चालनपछि स्थानीयस्तरमा भएका त्यस्ता विषय स्थानीयस्तरमै मिलाउँछौ ।’

स्थानीयस्तरका सामुदायिक विद्यालयको अनुगमन गरी विद्यालयको शैक्षिक गुणस्तर सुधार, खानेपानी, शौचालयको व्यवस्थाका लागि दिइएका सुझावहरू विद्यालयले पालना गर्न थालेको मानव अधिकार निगरानी समूहकी सदस्य राधा पासवानले बताउनुभयो ।

मानव अधिकार निगरानी समूह परियोजना सञ्चालन हुँदा मात्रै नभएर निरन्तर सञ्चालनका लागि कोषको व्यवस्था गरिदिन अनुगमन टोली समक्ष निगरानी समूह सदस्य अश्विनी मण्डलले माग गर्नुभयो । उहाँले परियोजना सञ्चालन भएका अन्य जिल्लाको भ्रमण गराउन आग्रह गर्नुभएको थियो ।

इन्सेक अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले मानव अधिकार निगरानी समूहले सकारात्मक परिवर्तनका लागि गरेको कार्यको प्रशंसा गर्नुभयो ।

उहाँले व्यक्तिको व्यवहार परिवर्तनबाटै समाजको परिवर्तन गर्न सकिने बताउनुभयो । अध्यक्ष श्रेष्ठले मानव अधिकार निगरानी समूहको काम प्रभावकारी देखिएको बताउनुभयो ।

कार्यकारी निर्देशक विजयराज गौतमले मानव अधिकार निगरानी समूहका लागि आवश्यक कोषका लागि छलफल गरिने बताउनुभयो ।

इन्सेक प्रदेश १ संयोजक सोमराज थापाले धनपालथानमा निगरानी समूहको काम प्रभावकारी भएको बताउनुभयो । उहाँले आगामी दिनमा परियोजनाले तय गरेका लक्ष्य प्राप्ति हुने बताउनुभयो ।

Photo20200110Morang (1)

Photo20200110Morang (2)

 

 

नेत्र पी अधिकारी