इन्सेकसँग सहकार्य गरेर अगाडि बढ्ने मेयरद्वारा प्रतिवद्धता

  ०७६ पुस २५ गते

इन्सेकसँग सहकार्य गरेर अगाडि बढ्ने बाणगङ्गा नगरपालिकाका मेयरले प्रतिवद्धता जनाउनु भएको छ  । इन्सेकको आयोजनामा पुस २३ गते बाणगङ्गा नपामा अयोजित शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक  नागरिक र सेवाप्रदायकबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै बाणगङ्गा नपा मेयर मङ्गलप्रसाद थारूले शिक्षा, स्वास्थ्य ,खाद्य र आवासको अधिकारका सवालमा इन्सेकसँग सहकार्य गरेर अगाडि बढ्ने  प्रतिवद्धता जनाउनु भएको हो ।

बाणगङ्गा नपा –४ का वडा अध्यक्ष गणेशबहादुर क्षेत्रीले समस्या लिएर वडा कार्यालयमा आए सम्बोधन गर्ने बताउनु भयो ।  बाणगगा नपा–४ गजेडाकी ५० वर्षीया लक्ष्मी बिकले संविधानले व्यवस्था गरेपनि कार्यान्वयन नहुदाँ समस्या भोग्नु परेको बताउनु भयो । “हातमा लालपुर्जा छैन, धारामा पानी छैन, स्कुलमा निशुल्क शिक्षा छैन, साँझ बिहान खाने गाँस छैन, साथमा नागरिकता छैन, कसरी सुविधा पाएको भन्नु ।,” लक्ष्मीले भन्नु भयो ।

सहभागिहरूले अहिलेपनि  विद्यालयमा शुल्क तिर्नु परेको,  स्वच्छ खानेपानी उपयोग गर्न नपाएको, सुकुम्बासी बस्तीमा निशुल्क बिजुली भनेपनि शुल्क तिर्दा समेत नपाएको गुनासो गर्नु भएको थियो । ६५ वर्षीया  भीममाया रेश्मी मगरले नागररिकता नबन्दा राज्यले दिने एकल भत्ता वा वृद्ध भत्ता पाउन नसकेको बताउनु भयो ।

बाणगङ्गा माविका प्रअ राम प्रसाद भण्डारीले मौलिकहकमा आधारभुत तह निशुल्क र अनिवार्य तथा माविमा  निशुल्क भने पनि सरकारले विद्यालयलाई आवस्यक बिद्युत बिल, खानेपानी, चार वटा परीक्षा सञ्चालन ,खेलकुद प्रतियोगित अतिरिक्त कृयाकलाप र निजि शिक्षकलाई तलब लगायतका शिर्षकमा कम बजेट आउने कारणले पनि बाध्य भएर शुल्क लिने गरेको बताउनु भयो ।

नागरिक समाजका जिल्ला अध्यक्ष दोलकबहादुर पछाईले इन्सेकले सञ्चालन गरेको परियोजनाका कारण शिक्षा, स्वास्थ्य ,खाद्य र  आवासका सवालमा नागरिकले गुनासो राख्ने मञ्च पाएको बताउनु भयो ।

स्वास्थ्य चौकीका  इन्चार्ज दोर्णराज बेलवासेले स्वास्थ्य चौकीहरूमा  आकस्मीक सेवा सञ्चालन गर्न स्रोत साधन र जनशक्ति नभएसम्म कार्यान्वयन गर्न नसकिने बताउनु भयो । कृषि शाखा प्रमुख लेषबहादुर केसीले सानाकिसानहरूले सरकारको अनुदान पाउन नसकेको बताउनु भयो ।

 

2020010801kapilvastu

पार्वती आचार्य