इन्सेकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

  ०७७ साउन ५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका र बिनयी त्रिवेणी गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नवलपरासी पूर्वकाे कावासोति नगरपालिका र बिनयी त्रिवेणी गाउँपालिकामा इन्सेकद्वारा मानव अधिकार संरक्षण र सम्वर्ध्दनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ ।

इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रे र इन्सेकद्वारा गठिन मानव अधिकार समूहका सदस्य दयाराम आचार्यले कावासोति नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियालाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि सहयोग स्वरुप पाँच सय थान माक्स, एक लिटर सेनेटाइजर र दुई थान थर्मल गन हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै नगरपालिका उपप्रमुख मर्दनियाले कोभिड –१९ को कारण सिर्जना भएको विपतमा इन्सेकको सहकार्य महत्वपूर्ण रहेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले आगामी दिनमा पनि आवश्यक समन्वय गर्न अनुरोध गर्नुभयो ।

यसका साथै बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिशीलाई बिनयी त्रिवेणी गाउँपालिकामा इन्सेकले गठन गरेको मानव अधिकार समूहका संयोजक धर्मराज जिशी, सदस्य तेज प्रसाद कोईराला र भुना पंगेनीको उपस्थितीमा  स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष जीशीले कोरोनाका कारण उत्पन्न विषम परिस्थितीमा सानो सहयोगले पनि ठूलो महत्व  राख्ने बताउनुभयो । गाउँपालिकाले कोरोना रोकथामका लागि विभिन्न प्रयास गरिराखेको समयमा इन्सेकले अत्यावश्यकीय स्वास्थ्य सामाग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।  आगामी दिनमा समेत  यस प्रकारको सहयोग र सहकार्य  गर्न समेत  उहाँले अनुरोध गर्नुभयो ।

photo20200720Nawalpur

photo20200720Nawalpur2.jpg

तिर्थराज डुम्रे